राष्ट्रियसभा सदस्यका उम्मेदवार चयनमा संस्थापनले एकलौटी गरेको भन्दै गगनको फरक मत, विश्वप्रकाशको बहिष्कार
काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रियसभा सदस्यको निर्वाचन उम्मेदवार चयनको विषयमा विवाद भएको छछ । संस्थापन पक्षले एकलौटी उम्मेदवारको नाम चयन गरेको भन्दै महामन्त्रीद्धय गगन कुमार थापा र विश्वप्रकाश शर्माले असन्तुष्टि जनाएका छन् । पार्टीमा कुनै छलफल नै नगरेर नेकपा (एमाले) सँग गठबन्धन गरेको भन्दै पनि नेताहरुले असन्तुष्टि राखेका छन् ।
तालमेल, उम्मेदवार छनोटका विषयमा असहमति जनाउँदै थापाले फरक मत राखेका छन् । तर, अर्का महामन्त्री विश्वप्रकाश शर्माले केन्द्रीय कार्यसम्पादन समितको बैठक नै बहिष्कार गरेका छन् । थापाले समितको बैठकमा सहभागी भए पनि विधान मिच्ने कामप्रति फरक मत राखेको बताए । ‘मैले पार्टीको निर्णयमा फरक मत दर्ज गरेको छु । विधान, प्रक्रिया मिच्ने काम भएको छ’, थापाले भने ।
आफू र अर्का महामन्त्री शर्मालाई पेल्ने काम भएको उनले बताए । ‘मिलाएर जानुपर्ने हो । छलफल गरेको भए मुस्लिम, जनजाति क्लस्टर छुटेको छ । संगठनमा काम गरेका एक से एक नाममा बहस गर्न पनि पाइएन । अघिल्लोपटक राष्ट्रियसभामा प्रस्ताव भएका तीन नाम बदलिएको थियो’, थापाले भने, ‘तर, बोलाएर चिसोमा राखेको छ । छलफल कहाँ हुन्छ थाहा भएन । आएर निर्णय सुनाइको छ । घोषणामा ताली बजाइएन् । अर्को महामन्त्री पनि स्वास्थ्यको कारण आउनुभएन । तर, हामी दुवैको सहमति भएन । यो प्रक्रियामा हाम्रो असहमति छ ।’
११ माघमा हुने १८ सदस्यीय राष्ट्रियसभा सदस्यको निर्वाचनमा कांग्रेस, एमालेले भागबण्डा गरेका छन् । कांग्रेसले ९, एमालेले ८ सदस्य लिएको छ ।
आफूहरूसँग पर्याप्त छलफल नगरी एकलौटी रूपमा उम्मेदवार तय गरिएको भन्दै दुवै महामन्त्री असन्तुष्ट छन् ।

प्रतिक्रिया दिनुहोस्: