Bagmati Samachar Logo

कांग्रेसको विशेष महाधिवेशन गर्न पुस २७ र २८ का लागि हल बुक

काठमाडौं । नेपाली कांग्रेसको नियमित महाधिवेशन नभएपछि विशेष महाधिवेशन गर्न हल बुक गरिएको छ । विशेष महाधिवेशन पक्षधरले यही २७ र २८ पुसको लागि विशेष महाधिवेशन गर्न भृकुटीमण्डप हल बुक गराए छ । कांग्रेस नेतृ प्रतिमा गौतमका अनुसार विशेष महाधिवेशन गर्न भृकुटीमण्डपको हल बुक भएको छ ।

‘विधानको धारा १७ (२) अन्तर्गत विशेष महाधिवेश बोलाउनको लागि ४० प्रतिशतले हस्ताक्षर गरेपछि बोलाउनुपर्छ । तर हामीले ५४ प्रतिशत बढीको हस्ताक्षर बुझाएर यसअघि नै माग गरेका थियौँ । नियमित महाधिवेशन गरेको भए हिजो वडा र आज नगर कार्यसमितिको अधिवेशन हुने थियो । तर पार्टीले न अधिवेशन गर्‍यो न सार्‍यो,’ गौतमले भनिन्, ‘त्यसैले अब विधानअनुसार महाधिवेशन गर्नुको विकल्प छैन भनेर हामीले विशेष महाधिवेशन गर्न पुस २७ र २८ गतेको लागि भृकुटी मण्डपमा हल बुक गरेका छौँ ।’

भोलि विशेष महािधवेशन माग गर्ने पक्षले प्रेस मिट गर्ने र पर्सि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पत्रकार सम्मेलन गर्ने जानकारी पनि उनले दिइन् । नियमित नभएपछि अब विधानतः महाधिवेशन गर्नुपर्ने पक्षमा दुवै महामन्त्री छन् ।

सभापति शेरबहादुर देउवाले आज भेट्ने भनेका महामन्त्री थापासँगको भेट रद्द गरेका छन् ।