Bagmati Samachar Logo

मिराज र सुधनलाई सचेत गराउँदै रक्षा बमले भनिन्– देशको राजनीतिक कोर्स संसद पुनर्स्थापनाभन्दा अगाडि गइसक्यो

काठमाडौं । जेन–जी नेतृत्व रक्षा बमले नेपालको राजनीतिक कोर्स संसद पुनर्स्थापनाभन्दा अगाडि पुगेको बताएकी छिन् । जेन–जीकै अगुवाहरूले संसद पुनर्स्थापनाको अभिव्यक्ति दिएको प्रति आपत्ति जनाउँदै उनले अब नयाँ जनादेश लिएर मात्रै संसदमा जानु उपयुक्त हुने बताइन् ।

‘जेन–जी मित्र (मिराज ढुंगाना) र जेन–जीका दाइ (सुधन गुरुङ) दुवैलाई भन्न चाहन्छु, तपाईंहरू दुवैले जुन संसद पुनर्स्थापनाको कुरा गरिरहनुभएको छ, हाम्रो देशको राजनैतिक कोर्स त्यहाँबाट निकै अगाडि बढिसकेको छ’, बमले सामाजिक सञ्जालमा भनिन्, ‘अब पश्चगामी बाटोतर्फ जानुभन्दा नयाँ जनादेश लिएर नयाँ संसदमार्फत मुलुकलाई निकास दिँदै हाम्रा मुद्दाहरू सम्बोधन गरिने बाटो खोजिनुपर्छ। यतिखेर सबैभन्दा प्रमुख कुरा, हामीलाई पोलटिकल प्रोसेसको आवश्यकता छ ।’

उनले जेन–जीहरू कसैको स्वार्थपूर्तिका खातिर राजनीतिक र रणनीतिक गोटी बन्न नहुने बताइन् ।

साथै, उनले गुरुङले दिएको अभिव्यक्ति पितृसत्तात्मक सोचबाट प्रेरित भएको भन्दै असन्तुष्टि पोख‍ेकी छन् । ‘अनि जेन–जीका दाइ, मेरा यी चुरा लगाएका दुवै हात यस्ता सम्पूर्ण गलत कुकृत्यका विरूद्ध आफ्नो मुठ्ठी उठाइरहेकै छन् । चुरा लगाएका हातलाई कमजोर ठान्ने पितृसत्तावादी भुल नगर्नुहोला । स्त्रीद्वेषी टिप्पणी दिन छोड्नुस र याद गर्नुस्, परिवर्तनका हरेक आन्दोलनहरूमा महिलाहरूले पनि आफ्नो रगत पसिना एक गरेका छन् । भदौ २८, २०८२ मा ढोगेको खुट्टा सम्झनुस् । तपाईंले चुरा लगाएकै हात भएकी एक महिलाको खुट्टामा लम्पसार परेर ढोग्नुभएको थियो’, उनले गुरुङलाई सचेत गराइन् ।

यस्तो छ उनको भनाइ

एकजना जेन जी मित्र, जो सेप्टेम्बर ८ को दिन आन्दोलनमै आएका थिएनन, आज अन्तरिम सरकारलाई “कामचोर” घोषणा गरेर संसद पुनस्थापना र सर्वपक्षीय सरकार भनिरहेका छन्।

अर्का एक जेन जीका दाइ छन् , उनले पनि केही दिन अगाडि कान्तिपुर टिभीको फायरसाईडमा संसद पुनस्थापना र सर्वपक्षीय सरकारकै कुरा विकल्पको रूपमा अगाडि सारेका थिए। अनि फेरि आफै ‘हामी तिमीहरूलाई आउन दिन्छौं र ? हामीले हातमा चुरा लगाएका छैनौं’ पनि भन्दै थिए।

जेन जी मित्र र जेन जीका दाई दुवैलाई भन्न चाहन्छु, तपाईहरू दुबैले जुन संसद पुनस्थापना को कुरा गरिरहनु भएको छ, हाम्रो देशको राजनैतिक कोर्स त्यहाँबाट निकै अगाडि बढिसकेको छ। अब पश्चगामी बाटोतर्फ जानुभन्दा नयाँ जनादेश लिएर नयाँ संसद मार्फत मुलुकलाई निकास दिदै, हाम्रा मुद्दाहरू सम्बोधन गरिने बाटो खोजिनुपर्दछ ।यतिखेर सबैभन्दा प्रमुख कुरा, हामीलाई “पोलटिकल प्रोसेसको” को आवश्यकता छ। हामी कसैको पनि स्वार्थपूर्तिका खातिर राजनैतिकररणनैतिक गोटी बन्नुहुदैन।हामी थप सचेत हुन जरूरी छ।देशमा शान्ति जरूरी छ।

अनि जेन जीका दाई , मेरा यी चुरा लगाएका दुबै हात यस्ता सम्पूर्ण गलत कुकृत्यका विरूद्ध आफ्नो मुठ्ठी उठाईरहेकै छन्। चुरा लगाएका हातलाई कमजोर ठान्ने पितृसत्तावादी भूल नगर्नुहोला । स्त्रीद्वेषी टिप्पणी दिन छोड्नुस र याद गर्नुस, परिवर्तनका हरेक आन्दोलनहरूमा महिलाहरूले पनि आफ्नो रगत पसिना एक गरेका छन्। भदौ २८,२०८२ मा ढोगेको खुट्टा सम्झनुस् । तपाईले चुरा लगाएकै हात भएकी एक महिलाको खुट्टामा लम्पसार परेर ढोग्नुभएको थियो ।