Bagmati Samachar Logo

एमालेमा ईश्वर पोखरेल समूहले भने–ओलीले पक्षपात गरे प्रतिवाद गछौँ

काठमाडौं । नेकपा एमालेका नेता ईश्वर पोखरेल समूहले अध्यक्ष केपी शर्मा ओलीले पक्षपात गरे प्रतिवाद गर्ने बताएका छन् । आज भएको पोखरेल पक्षको भेलाले भरखरै सकिएको महाधिवेशनको पनि देशव्यापी समीक्षा गर्ने निर्णय गरेको छ ।
भेलाले पार्टीमा संस्थापन समुहले पेलेर जान खोजे प्रतिवाद गर्ने निर्णय गरेको उपमहासचिव योगेश भट्टराईले बताए ।

उनले भने, ‘हाम्रो भेलाले एमालेलाई अझ एकताबद्ध र सशक्त बनाउने दिशामा तर्फबाट भूमिका खेल्ने निर्णय गरेको छ। पार्टीभित्रै रहेर, महाधिवेशनका क्रममा हामीले उठाएका विषयहरू पार्टी पुनर्संरचना, नेतृत्व हस्तान्तरण, जनताको बहुदलीय जनवादको आधारमा पार्टी निर्माण, तथा आन्तरिक लोकतान्त्रिकरणसम्बन्धी विचारहरू पार्टीको विधान र कानुनको दायराभित्र निरन्तर उठाइरहने निष्कर्षमा पुगेका छौँ।

भेलाले पार्टीपंक्तिलाई निराश नहुन अपिल गरेको उनले बताए। उनले भने, ‘हामीले लोकतान्त्रिक प्रतिस्पर्धामा भाग लिएका हौँ। तर प्रतिनिधि छनोटदेखि बन्द सत्रभित्रका गतिविधिसम्म पार्टीको लोकतान्त्रिक अभ्यासबारे गम्भीर प्रश्न उठेका छन्। पार्टीका संरचनाहरू दुरुपयोग गरिएको र सङ्गठन विभागजस्ता निकायहरूको दुरुपयोगमार्फत आन्तरिक लोकतन्त्रलाई अस्वस्थ बनाउने प्रयास भएकोप्रति हामीले चिन्ता व्यक्त गरेका छौँ।’

आगामी केन्द्रीय कमिटीको बैठकबारे पनि समीक्षा गर्ने बताए। लोकतान्त्रिक अभ्यासमा भाग लिएका कारण परिणामलाई सहज रूपमा स्वीकार गरेको बताए।

उनले भने, ‘अध्यक्ष (ओली)ले ल्याउने सकारात्मक प्रस्तावहरूलाई हामी समर्थन गर्नेछौँ। तर पार्टी एकता भङ्ग गर्ने, पक्षपात देखाउने, गुटबन्दी र विभाजन सिर्जना गर्ने वा व्यक्तिहरूलाई आंशिक व्यवहार गर्ने प्रस्ताव आएमा पार्टीभित्रै रहेर त्यसको प्रतिरोध गर्नेछौँ।’

आगामी निर्वाचनसहित बाह्य प्रतिस्पर्धामा पार्टीलाई विजयी बनाउने पक्षमा हामी सधैँ उभिने बताए। उनले भने, ‘पार्टी अध्यक्षको कार्यशैलीका सन्दर्भमा हिजो जस्तो थियो, आज पनि त्यही छ, र भोलि पनि परिवर्तन हुने सम्भावना देखिँदैन। त्यसैले हिजो उहाँको कार्यशैली तथा वैचारिक र व्यवहारिक असंगतिका विरुद्ध आवाज उठायौँ, आज उठाइरहेका छौँ, र भोलि पनि उठाउनेछौँ।’