Bagmati Samachar Logo

चुनाव सार्न खोजिए देशमा दुर्घटना हुन्छ, हामी चुप बस्दैनौं ः प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले कुनै पनि बहानामा चुनाव सार्ने काम भए ठिक नहुने बताएका छन् ।

यदी निर्वाचन सार्ने काम भयो भने आफूहरू चुप लागेर नबस्ने पनि उनको अर्को चेतावनी छ ।

पार्टीको बागमती प्रदेश कमिटीले काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरेको सन्देश सभालाई सम्बोधन गर्ने क्रममा उनले फेरि चुनाव सार्न खोज्दा संविधान मिचिने जिकिर गरे ।

‘हामी त अहिले यो देशलाई संकटबाट बचाउने, संकटबाट मुक्त गर्ने उद्देश्यका साथ यो तागत एकीकृत गरेका छौं । हामीले भनेका छौं, सहज ढंगले निर्वाचन सम्पन्न होस्’ प्रचण्डले भने, ‘सरकारलाई हामी भन्न चाहन्छौं, तपाईंहरू कुनै तर्क र बहानामा निर्वाचन सार्ने दुस्साहस नगर्नुहोला ।’

यसअघि केही हदसम्म संविधान मिच्ने काम भएको तर देशको अवस्थालाई हेरेर आफूहरू चुपचाप सहयोग गरेर अघि बढेको उनको भनाइ छ ।

‘यदी तपाईंहरूले संविधान बार बार मिच्ने कोशिस, एकचोटि त मिचिइसकेको छ केही हदसम्म । तर त्यसमा हामीले देशको असहज अवस्थालाई हेरेर देशमा अन्तरिम सरकार बनाउन पहल गरेकै हो । तर यो सरकारले फेरि निर्वाचनको मिति सार्ने, धकेल्ने काम गरियो भने फेरि संविधान मिचिन्छ’ प्रचण्डले भने, ‘यदी त्यसो गरियो भने हामी चुप लागेर बस्ने छैनौं । केही अहंकारी र दम्भीहरूले प्रतिशोधबाहेक केही नदेख्नेले विभिन्न धम्कीको भाषा बोल्ने गरेका छन् । म आज धम्कीको भाषा बोल्न चाहन्नँ, शान्तिपूर्ण तरिकाले निर्वाचन गरियोस् ।’

उनले ६ महिना, एक वर्ष निर्वाचनको मिति सार्ने हल्ला आफूले सुनेको पनि बताए । उनले देशमा भुइ फुट्टाले हल्ला गर्ने गरेको पनि बताए ।