पूर्वराष्ट्रपति र प्रधानमन्त्री कार्कीबीच ओलीलाई गिरफ्तार गर्ने कुरा भएको महेश बस्नेतको दाबी
काठमाडौं । नेकपा (एमाले) का नेता महेश बस्नेतले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई पक्राउ गर्नेबारे पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री सुशीला कार्कीबीच कुराकानी भएको दाबी गरेका छन् । सामाजिक सञ्जालमा बिहीबार स्टाटस लेख्दै बस्नेतले यस्तो दाबी गरेका हुन् ।
‘हिजोको पत्रकार सम्मेलनमा ईश्वर पोखरेलले पत्रकारहरूलाई भन्नुभयो– तपाईंहरूले एउटा कुरा सोध्नै भुल्नुभयो, किन हाम्रो अध्यक्ष आयोगमा बयान दिन जानुभएन ? म भए जान्थेँ, उहाँ पनि जानैपर्छ’, बस्नेतले लेखेका छन्, ‘यसबीच अर्को षडयन्त्रको खेल पनि बाहिर आएको छ । दुई दिनअगाडि नै पूर्वराष्ट्रपति विद्या भण्डारी र प्रधानमन्त्री सुशीला कार्कीबीच भएको भनिएको वार्तामा पनि केपी ओलीलाई गिरफ्तार गर्ने कुरा भएको रहस्य खुलेको छ ।’ केही दिनअघि भण्डारीले सिंहदरबार पुगेर प्रधानमन्त्री कार्कीसँग राजनीतिक संवाद गरेकी थिइन् ।
बुधबार जेन–जी समूहको नाममा गरिएको सम्झौता र कमेडियन हिमेश पन्तलगायतका सेलिब्रेटीहरूले ओली पक्राउको गलत हल्ला फैलाएको आरोप पनि उनले लगाएका छन् ।
‘केपी ओली गिरफ्तार भन्ने मिडिया ट्रायल सबै कुरा एउटै दिशातिर संकेत गर्छन् । उनीहरूको उद्देश्य हो महाधिवेशन भाड्ने, आतंक फैलाउने, सहभागिता घटाउने’, बस्नेतले लेखेका छन्, ‘अन्तिम चरणमा केपी ओलीको लोकप्रियता कमजोर पार्ने, महाधिवेशनमा चुनाव भएमा सके हराउने नसके भोट घटाउने हो । तर, उनीहरूले बिर्सिन नहुने कुरा के हो भने एमाले सबै प्रकारका षड्यन्त्र चिर्न सक्षम छ ।’
अध्यक्षलाई दबाब दिने वा गिरफ्तार गर्ने कुनै पनि चाल कदापि सफल नहुने चेतावनी उनले दिएका छन् ।
प्रतिक्रिया दिनुहोस्: