Bagmati Samachar Logo

अध्यक्षमा ओलीको विकल्प खोज्नु पर्छ भन्ने पूर्वमन्त्रीसहित ताप्लेजुङका २ नेता निलम्बन

काठमाडौं । ११ औँ राष्ट्रिय महाधिवेशनको संघारमा एमालेले ताप्लेजुङका २ नेतालाई निलम्बन गरेको छ । निलम्बनमा परेका दुबै नेताले अध्यक्ष केपी शर्मा ओलीको विकल्प खोज्नु पर्ने मत राख्दै आएका थिए । कारबाहीमा पर्नेहरू कोशी प्रदेश सल्लाहकार परिषद् सदस्य एवं पूर्वमन्त्री बलबहादुर साम्सोहाङ र कोशी प्रदेश पर्यटन विभाग सचिव मणिशंकर पोमु रहेका छन् ।

ताप्लेजुङले महाधिवेशन प्रतिनिधि सर्वसम्मत छनौट गरेको छ तर दुई नेताहरु भने निलम्बनमा परेका छन् ।

कोशी प्रदेश कमिटीले साम्सोहाङ र पोमुलाई १५ दिनको स्पष्टीकरण सोध्दै जिम्मेवारबाट मुक्त गरी सो अवधिका लागि निलम्बन गरेको पत्र पठाएको हो ।

महाधिवेशन प्रतिनिधि छनोटको निर्वाचन प्रक्रियाको क्रममा निर्वाचन कमिटी संयोजक राजकुमार चुडालमाथि सांघातिक हमला र निर्वाचन प्रकियामा अवरोध खडा गरेको जिल्लाको सिफारिसअनुसार कारबाही गरिएको पत्रमा उल्लेख छ ।

कारबाहीको पत्रमा अध्यक्ष घनश्याम खतिवडाले हस्ताक्षर गरेका छन् ।

गत वैशाखमा पनि यी दुई नेतामाथि कारबाही गर्दै एक महिनाका लागि साधारण सदस्यबाट निलम्बन गरिएको थियो ।

गत वैशाख १८ गते राष्ट्रिय युवा संघ नेपाल ताप्लेजुङको अधिवेशनबाट संस्थापन पक्षले एकलौटी ढंगले जिल्ला कमिटी गठन गरेको भन्दै साम्सोहाङ पक्षले विरोध गरेका थिए । त्यहीकारण उनीहरूमाथि कारबाही भएको थियो ।