Bagmati Samachar Logo

महाचिव शंकर पोखरेलको जिल्लामा प्रतिनिधि छनौटमा विवाद, मन्त्रीसहित ८ जनाको योग्यता नपुगेको दाबी

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)का महासचिव शंकर पोखरेलको गृह जिल्ला दाङमा मापदण्डविपरीत महाधिवेशन प्रतिनिधि छनोट एकलौटी रुपमा भएको भन्दै विवाद केन्द्रसम्म पुगेको छ ।

प्रतिनिधि छनौट सर्वसम्मत गरेको तर मापदण्डविपरीत भएको भन्दै प्रदेश र जिल्ला कमिटीका नेताले पुनःप्रतिनिधि छनोटको माग गरेर संगठन विभागमा उजुरी गरेका छन् । केन्द्रीय सल्लाहकार परिषद् सदस्य शारदा स्वर्णकार, प्रदेश सचिवालय सदस्य रामजी चौधरी, सीमा न्यौपाने, सुरामणी बेल्बासेसहित १९ जना नेताले संगठन विभागमा उजुरी हालेका छन् ।

उनीहरूले ८ जना प्रतिनिधि संगठन विभागले तोकेको मापदण्डविपरीत भएको दाबी गरेका छन् । त्यसलाई खारेज गरी नयाँ प्रक्रिया सुरू गरी पुनः प्रतिनिधि छनोटको प्रक्रिया थाल्नुपर्ने उजुरीमा माग गरिएको छ ।

प्रतिनिधि बनेका निर्मला विक, तुलसा पोखरेल, सीता शर्मा चौधरी, देवबहादुर बस्नेत, लक्ष्मी शर्मा पुष्पा लामिछाने भट्टराई र आशीष योगीको सदस्यता प्राप्त गरेको समय अवधि प्रतिनिधि हुन अयोग्य भएको उनीहरूको जिकिर छ ।

महाधिवेशन प्रतिनिधि हुन महिला, दलित र युवाको हकमा सदस्यता प्राप्त गरेको ७ वर्ष पुगेको हुनुपर्छ । तर, यी ८ जना कसैले पनि सदस्यता प्राप्त गरेको ७ वर्ष पुगेको छैन । महाधिवेशन प्रतिनिधि हुन अयोग्यको सूचीमा लुम्बिनी प्रदेश सिँचाइमन्त्री सीता शर्मा चौधरी समेत छिन् ।

जिल्ला पदाधिकारी ५ जना र आफ्ना नजिककालाई प्रतिनिधि बनाएको भन्दै त्यो पनि खारेज गर्न उनीहरूले माग गरेका छन् ।