Bagmati Samachar Logo

सच्चिएर जनतामा आएकाछौँ, जेनजी आन्दोलनले हामीलाई झकझक्यायो : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विगतका कमजोरी सच्याउँदै जनताको चाहना अनुसार पार्टीलाई अघि बढाउने बताएका छन् ।

शनिबार दाङको लमहीमा आयोजित पार्टी एकता सन्देश सभालाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन् ।

प्रचण्डले १५ वटा विभिन्न कम्युनिस्ट घटक र समूहहरू मिलेर बनेको यो नेकपा चुनाव जित्नका लागि मात्र नभई राष्ट्र र जनताको रक्षाका लागि गरिएको ऐतिहासिक सङ्कल्प भएको दाबी गरे ।

प्रचण्डले लामो सङ्घर्ष र बलिदानपछि संविधानसभाबाट संविधान जारी गरे पनि जनताको अपेक्षा अनुसार परिणाम दिन नसकेको स्वीकार गरे। उनले भने, ’हामीले विभिन्न समयमा राष्ट्र र जनताको पक्षमा काम गर्ने कोसिस गरे पनि भनेजस्तो परिणाम निकाल्न सकिएको थिएन। हामी बिस्तारै कहाँ त्रुटि भयो, कहाँ कमजोरी भयो भनेर समीक्षा गर्दै थियौँ।’ उनले यो एकता सभालाई ’आत्मालोचना सभा’ र ’सङ्कल्प सभा’ को संज्ञा दिँदै विगतका कमजोरी दोहोरिन नदिने प्रतिबद्धता व्यक्त गरे।

युवा पुस्ताको पछिल्लो आन्दोलनले नेतृत्वलाई गम्भीर रूपमा झकझक्याएको प्रचण्डले बताए। ’पछिल्लो ’जेनजी’ आन्दोलन वा नयाँ युवा पुस्ताको आन्दोलनबाट जसरी हामी सबैलाई घच्घच्याउने काम भयो, हामीले अझ गम्भीर रूपले आत्मसमीक्षा गर्नुपर्ने र आफूलाई सच्याउनुपर्ने आवश्यकता महसुस भयो,’ उनले भने। युवाहरूको भावना र चाहना अनुसार नेपाली जनताको आवश्यकता पुरा गर्न आफूहरू बदलिनुको विकल्प नरहेको उनको भनाइ थियो ।

प्रचण्डले मजदुर, किसान, दलित, महिला, मुस्लिम र थारु लगायतका उत्पीडित समुदायको हकहितका लागि फेरि एक पटक नयाँ ढङ्गले सङ्घर्ष गर्ने उद्घोष गरे। उनले सुशासन, आर्थिक समृद्धि र रोजगारीको क्षेत्रमा ठोस पहल गर्न नसकेको स्वीकार गर्दै अब जनताको सेवामा समर्पित हुने बताए ।