Bagmati Samachar Logo

चुनाव जितेर मात्र केही हुँदो रहेनछ, हेलिकप्टर चढेर भाग्नुपर्यो : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले चुनाव जितेर सत्तामा पुगेपनि हेलिकप्टर चढेर भाग्नु परेको बताएका छन् ।

शनिबार लुम्बिनी प्रदेशको लमहीमा पार्टी एकता सन्देश कार्यक्रमलाई सम्बोधन गर्दै उनले चुनाव जितेर सत्तामा पुगेपनि हेलिकप्टर चढेर भाग्नुपर्ने अवस्था आएको बताएका हुन्।

‘उनले भने, ‘चुनाव जितेर मात्रै केही नाप्दो रहेनछ र हेलिकोप्टर चढेर भाग्नु पर्ने रहेछ। ठूलो कुरा जनताबीचको एकता आवश्यक रहेछ । मैले संसदको रोष्ट्रमबाटै भनेको थिएँ। बहुमतको धेरै दम्भ नदेखाउनुहोस् यस्तै अवस्था रहे कुनै दिन जनताले लेखेट्ने छन् भनेर। आज उहाँ (केपी शर्मा ओली) ले यो सबै प्रचण्डले गरायो भन्दै हिँडेको सुन्छौं। तर उहाँको अझै पनि अहंकार त्यागेको देखिँदैन।’

उनले लामो छलफल र संकल्पबाट १५ वटा पार्टीबीच एकता भएको बताए। त्यसलाई जनताले उत्साहसाथ अनुमोदन गरेको बताए।

‘भदौ २४ गतेको विध्वंस देख्यौं, केही घन्टामै देश जलाएको देख्यौं। सिंहदरबार, सर्वोच्च अदालत, प्रहरी चौकी जलाएको देख्यौं। केही घन्टामै देश बर्बाद पारी जलाउन सक्नेहरू देख्यौं,’ उनले भने, ‘विगतमा हाम्रा पुर्खा लडेर, रगत बगाएर, त्याग र तपस्याले जोगाएको देशको स्वाधिनता क्षणभरमै स्वाहा भएको देख्यौं। हाम्रो राज्य संयन्त्र कति कमजोर भएको हो, हाम्रो सुरक्षा प्रणाली कति कमजोर भएको हो भन्ने लाग्यो।’

उनले फेरि पनि देश बनाउन वर्षौं संघर्ष र त्याग गरेका दलहरूबाट मात्रै सम्भव हुने बताए। सबैभन्दा बढी देशभक्त कम्युनिष्टहरू नै हुने दाबी गर्दै उनले २००६ सालदेखि जनआन्दोलनसम्म हजारौं सहिदको बलिदानी र त्यागबाट आजको परिवर्तन सम्भव भएको बताए।

‘म माओवादीमा सर्वोच्च कमाण्डर हुँदा माधवजी एमालेको महासचिव हुनुहुन्थ्यो,’ प्रचण्डले भने, ‘पहिलोपटक माधव कमरेडले नै बामदेब गौतम र युवराज ज्ञवालीलाई रोल्पा पठाएर वार्ता गर्नुभएको थियो। त्यसमा बामदेब कमरेड र मैले हस्ताक्षर गरेका थियौं।’

त्यस्तै उनले माधव नेपाल लगायतका नेताहरूसंगको सहकार्यका कारण पंचायत ढलाउन र पछिल्लो समय संघीय गणतन्त्र ल्याउन निर्णायक भूमिका खेलेको चर्चा गरे।

कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीका सहसंयोजक माधवकुमार नेपालले पनि एमाले अध्यक्ष ओली लक्षित अभिब्यक्ति दिएका थिए।

‘मैले त कति मान्छेहरूलाई तपाईंहरूले सक्नुहुन्छ भनेर सुधार्नुस् भनेको थिएँ,’ नेपालले भने, ‘तर, सम्भव भएन। नानीदेखि लागेको बानी सुध्रिँदो रहेनछ। अहिले पनि मति सुध्रिन्छ भनेर रहेनछ।’

त्यसरी सुध्रिएको व्यक्तिलाई स्याबास भनौंला र ठूलो मालाले स्वागत गरौंला भन्ने चाहाना रहेको उनले सुनाए। तर इच्छा पुरा हुन नसकेको उनले बताएका थिए।