Bagmati Samachar Logo

पदमा बसिरहने चाहना छैन : प्रचण्ड

काठमाडाैं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले आफूले पदमा लिप्त भएर बसिरहन नचाहेको बताए ।
आज काठमाडौंमा जनता समाजवादी समुहसहित ५ घटकसँगको एकता सभालाई सम्बोधन गर्दै प्रचण्डले उक्त कुरा बताएका हुन् ।

उनले आफूलाई पदमा बसीरहन चाहेको आरोप लाग्ने गरेको भएपनि त्यो सत्य नभएको बताए । उनले भने,‘पदको चाहना छैन भन्दै गर्दा पदमा बसिराख्न खोजे भनेर आरोप लगाइन्छ । हामी पद भइराख्नपर्छ भन्ने छैन । हामीलाई सक्रिय राजनीति बनिराख्ने वातावरण बन्यो भने हामीलाई पद ठूलो होइन । चीनमा देङ स्याओ पिङ र भारतमा महात्मा गान्धी कहिल्यै पदमा जानु भएन । तर देशको लागि ठूला ठूला काम गर्नु भयो ।’
प्रचण्डले यो पार्टी एकता मात्र नभएर आन्दोलन भएको बताए । अब यो आन्दोलनको रुपमा अगाडि बढाउने र आफूबाट भएका कमि कमजोरी र गल्तीको लागि जनतासँग माफि माग्ने बताए ।

प्रचण्डले एमालेमा उकुसमुकुस भइको आफूले देखेको बताएका छन् ।

उनले भने, ‘एमालेमा भएकाहरूलाई उकुसमुकुस भएको छ । हामी छलफल गरिरहेका छौँ । हामीले उहाँहरुसँग हातेमालो गर्न चाहेका छौँ । गलत प्रवृत्ति र नेतृत्व हुँदा कति ठुलो क्षति हुँदो रहेछ भन्ने कुरा हामीले देखिसक्यौँ ।’

प्रचण्डले आफू लगाय पार्टीमा भएका शीर्ष नेताहरू उमेरका हिसाबले करिब उत्तरार्धतिरै भएको बताएका छन् ।

उनले आफूहरू उत्तरार्धतिर रहेको भए पनि जेनजीभन्दा कम नभएको र यो देशको जनताको भाग्य र भविश्य बदल्न चाहेको बताए ।
उनले भने, ‘राष्ट्रप्रतिको जिम्मेवारी, राष्ट्र बचाउनुपर्छ र समाजवादको यात्रा अघि बढाउने विषयमा आफूहरू जेनजी युवाभन्दा कम छैनौँ । उमेरका हिसाबले हामी यहाँ जति नेता छौं, उत्तरार्धतिर छौं । तर अन्तिम अवस्थासम्म हामी त्यो अभिभावकीय भूमिका पूरा गर्न चाहन्छौं । जेनजी युवाहरूको असली अभिभावक बन्न चाहन्छौं । उनीहरूको समेत तागतलाई जोडेर समाजवादी क्रान्ति सम्पन्न गर्न चाहन्छौं ।’