निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्न आतुर छौं : गृहमन्त्री
काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले वर्तमान सरकार निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्न आतु रहेको बताएका छन् ।
सुशासनको आधार बलियो बनाउँदै निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्न यो सरकार आतुर रहेको कुरा बताएका छन् ।
लुम्बिनी प्रदेशद्वारा मंगलबार भैरहवामा आयोजित प्रदेशस्तरीय सुरक्षा गोष्ठी उद्घाटन गर्दै गृहमन्त्री अर्यालले यस्तो बताएका हुन् ।
उनले भयरहित वातावरणमा निर्वाचन सम्पन्न हुने जिकिर गरे ।
सुशासन र भ्रष्टाचार नियन्त्रणको माग राखी भएको जेनजी आन्दोलनपश्चात विषम परिस्थितिमा यो सरकार गठन भएको भन्दै उनले त्यसबेलाको त्रासदीपूर्ण अवस्थालाई पार लगाउँदै सरकारले सुरक्षाको अवस्थालाई सामान्य बनाउन सफलता पाएको दाबी गरेका छन् ।
‘अहिलेको सामान्य परिस्थितिमा आइपुग्न हामी सबैको अथक प्रयास र मिहिनेतको महत्वपूर्ण भूमिका छ,’ उनले भने, ‘अब निर्धारित समयमै निर्वाचन सम्पन्न गरेर निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्नुछ ।’
सुशासन प्रबर्द्धन गर्दै निर्वाचन सम्पन्न गर्ने अभिभारा वर्तमान सरकारको भएको पनि उनले बताए । ‘हामी यसैलाई मूलमन्त्र मानेर काम गरिरहेका छौं । विभिन्न बहाना देखाएर चुनाव हुँदैन भन्ने र गर्न सक्दैनन् भन्ने कुराहरू कहिं कतै सुनिएका छन्,’ उनले थपे, ‘सार्वजनिक खपतका लागि बोलिएका यस्ता विषयहरूलाई सरकारले आफ्नो काम र भूमिकाबाट जवाफ दिन्छ र दिइरहेको छ ।’
प्रतिक्रिया दिनुहोस्: