Bagmati Samachar Logo

सर्वोच्चलाई ओलीको च्यालेन्ज– संसद पुनर्स्थापनाबाहेक अर्को फैसला आउने ठाउँ छैन

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सवोच्च अदालतलाई चुनौती दिँदै विघटित प्रतिनिधिसभा पुनर्स्थापनाबाहेक अर्को बाटो नभएको जिकिर गरेका छन् । पार्टी कार्यालय च्यासलमा पार्टीका तर्फबाट प्रतिनिधिसभा सदस्य बनेका निवर्तमान सांसदसँगको बैठकमा उनले यसबाहेकको फैसला भए संविधान नभएको मानिने तर्क गरे ।

‘सम्मानित अदालतको पुनर्स्थापना गर्ने फैसलाबाहेक अन्य बाटो नै छैन,’ उनले भने, ‘यदि प्रतिनिधिसभा पुनर्स्थापना भएन भने नेपालमा संविधान नै छैन भन्ने बुझ्नुपर्ने हुन्छ ।’ उनले आफूले धेरैपटक संविधान पल्टाएको समेत बताएका छन् ।

उनले यो सरकार पूर्ण रूपमा अवैधानिक रहेको ठहर गर्दै सोहीअनुसार अदालतको फैसला आउने अपेक्षासमेत गरे । ‘यो सरकारले संवैधानिक छु भनेर तर्क पेस गर्नै सक्दैन । म लोकतन्त्रको पक्षमा छु भन्नै सक्दैन,’ ओलीले भने, ‘यसले त अराजकता, तोडफोड र लुटपाटलाई क्रान्ति भनेर क्रान्तिबाट बनेको हुँ भन्नेछ ।’

उनले यो सरकारले संविधान भित्रैबाट चलेको हुँ भनिरहँदा न्यायालयले अर्को फैसला दिने ठाउँ नै नभएको तर्क गरे । उनले राष्ट्रिय सम्पत्ति, जनप्रतिनिधिको सम्पत्ति, उद्योगी–व्यवसायी, मिडिया र निजी सम्पत्तिमा आगो लगाई आतंक–भय सिर्जना गरेर सरकार गठन हुन्छ ? भनेर समेत प्रश्न गरेका छन् ।