Bagmati Samachar Logo

मन्त्रीमण्डल विस्तार गर्ने तयारीमा, थपिने चार जनामा एक जना विवादीत

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रीमण्डल विस्तार गर्ने भएकी छन् । उनले चार जना मन्त्री थपेर मन्त्रीमण्डल विस्तार गर्न लागेकी छिन् ।

बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री कार्कीले चार जना मन्त्रीमा सुधा गौतम, गणपतिलाल श्रेष्ठ, बब्लु गुप्ता र खगेन्द्र सुनारलाई मन्त्रीमा नियुक्त गर्न लागेकी छन् । जसमध्ये सुधा गौतमलाई स्वास्थ्य तथा जनसंख्यामन्त्री, गणपतिलाल श्रेष्ठलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री, बब्लु गुप्तालाई युवा तथा खेलकुदमन्त्री र खगेन्द्र सुनारलाई श्रम तथा रोजगारमन्त्री नियुक्त गर्ने तयारी भएको थियो ।

सिफारिस भएका चारै जना मन्त्रीको आजै शपथग्रहण कार्यक्रम हुने भनिएपनि सुनारका बारेमा विवाद बाहिरीएपछि के हुन्छ भन्ने निश्चित छैन ।

सुनारलाई मन्त्री बनाउन लागेको भन्दै प्रधानमन्त्री सुशीला कार्कीको आलोचना भइरहेको छ ।

उनलाई चिन्नेहरूले उनीविरुद्ध सुर्खेत र काभ्रेबाट जारी भएको पक्राउ पुर्जी तथा उनले एक महिला अधिवक्ताविरुद्ध लेखेको फेसबुक स्टाटस सार्वजनिक गर्दै सरकारको आलोचना गरिरहेका छन् ।

उनीविरुद्ध सुर्खेत जिल्ला अदालतमा स्वास्थ्य संस्था तोडफोड तथा स्वास्थ्यकर्मी माथि हातपात सम्बन्धी मुद्दा परेपछि अदालतले २०८१ साल असार २१ गते पक्राउ पुर्जी जारी गरेको थियो ।

सुर्खेतको मेहेलकुना अस्पतालका कार्यालय प्रमुख डा। सोजन सापकोटाले जाहेरी दिएपछि अदालतले खगेन्द्रलाई सात दिन भित्र पक्राउ गरी उपस्थित गराउन जिल्ला प्रहरी कार्यालय दैलेखलाई पत्र लेखेको थियो ।

उनीविरुद्ध विद्युतीय कारोबार सम्बन्धी मुद्दामा समेत काभ्रे जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो ।

यी दुवै मुद्दा फर्स्यौट नभएको र उनी फरार अभियुक्तको रेकर्डमा रहेको प्रहरी स्रोत बताउँछ ।

खगेन्द्र दलित अधिकारको पक्षमा पटक–पटक धर्ना, प्रदर्शन र आन्दोलनमा सहभागी भएका थिए । उनले काठमाडौंमा नेल लगाएर गरेको प्रदर्शनले मिडियामा राम्रै स्थान पाएका थिए ।