Bagmati Samachar Logo

एमाले महासचिव पोखरेल रगृहमन्त्री अर्यालबीच सामाजिक सञ्जालमा भनाभन

काठमाडौँ । नेकपा (एमाले)का महासचिव शंकर पोखरेल र गृहमन्त्री ओम प्रकाश अर्यालबिच सामाजिक सञ्जाल फेसबुकमा भनाभन भएको छ ।

महासचिव पोखरेलले जेनजी आन्दोलनको घटना दोषीमाथि कारबाही गर्न प्रहरीलाई गृहमन्त्रीले रोकेको आरोप लगाएका छन् । पोखरेलको आरोपको खण्डन गर्दै गृहमन्त्री अर्यालले तथ्यहीन कुरा नगर्न र जिम्मेवार बन्न पोखरेललाई सचेत गराएका छन् ।

महासचिव पोखरेलले आफ्नो फेसबुक स्ट्याटसमा ‘२३ र २४ गतेका हिंसा, तोडफोड, आगजनी र लुटपाटका घटनालाई सामान्यीकरण गर्ने प्रयास गलत हो’ भन्दै दोषी जोसुकै भए पनि कानुन अनुसार कारबाही हुनुपर्नेमा जोड दिएका थिए । उनले थप लेखेका थिए, ’विध्वंस र लुटपाटमा संलग्नलाई नेपाल प्रहरीले कारबाही गर्न खोज्दा गृहमन्त्रीलाई प्रयोग गरेर रोक्न लगाउने बालेनजीले राजनीतिक दलहरूलाई दोषारोपण गरेर पानीमाथिको ओभानो’ बन्न खोज्नु हास्यास्पद छ।’ पोखरेलले नेपाल प्रहरीलाई स्वतन्त्र ढङ्गले अनुसन्धान र अभियोजन गर्न दिनुपर्ने बताउँदै एमालेको पूर्ण सहयोग रहने बताएका थिए ।

पोखरेलको यस आरोपको जवाफमा गृहमन्त्री अर्यालले पोखरेलको सोही फेसबुक पोस्टमा प्रतिक्रिया दिँदै कडा शब्दमा खण्डन गरेका छन् । उनले लेखेका छन्, ‘प्रिय शंकरजी, मेरो कर्तव्य पालनाको विषयमा तपाई यसरी तथ्यहीन कुरा नगर्नुस् है । मैले सत्यतथ्य कुरा सार्वजनिक रूपमा बताइसकेको छु, तपाईंलाई पनि भनिसकेको छु । अनि फेरि उही झुट किन दोहोर्‍याउनु हुन्छ ?’

गृहमन्त्री अर्यालले एमाले महासचिव जस्तो जिम्मेवार व्यक्तिले ’सत्यतथ्य बुझिबुझी फेरि पनि यति धेरै हावादारी नबन्न’ आग्रह गरेका छन्। उनले ’समाजमा हावादारीगफाडी भँडुवाहरूको कमी छैन’ भन्दै पोखरेललाई त्यसमा नथपिन अनुरोध घुमाउरो पारामा चेतावनी दिए । गृहमन्त्री अर्यालले स्थिति सामान्यीकरण गर्न मद्दत गर्न आग्रह गर्दै सरकार मार्फत शान्ति सुरक्षा, राष्ट्रिय सुरक्षा, सुशासन, भ्रष्टाचार निवारण, कानुनी राज्य र निष्पक्ष निर्वाचन सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।