Bagmati Samachar Logo

माओवाद र जबज त्यागेर माओवादी–एस एकताको अन्तिम तयारीमा

काठमाडौं । नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच एकता हुने भएको छ । केही दिनपहिले एसले माओवादी केन्द्रसँग पार्टी एकता गर्ने भन्दै बैठक बोलाएको थियो । उक्त बैठकमा खनालले पार्टी एकता तत्काल गर्न नहुने भन्दै भारतबाट नै लिखित प्रस्ताव पेस गरेका थिए । तर पछिल्लो समयमा उनले एकता हुँदा ठीकै हुने भनेपछि वार्ता सकारात्मक ढंगले अघि बढेको नेताहरूले जानकारी दिएका छन् ।

सम्मानित नेता खनाल र महासचिव घनश्याम भुसाल पार्टी एकताको विपक्षमा नभएर सम्मानजनक र सबै कुरा टुङ्ग्याएर एकता गरौँ भन्ने पक्षमा रहेको उपाध्यक्ष तथा पार्टी प्रवक्ता प्रकाश ज्वालाले बताए । उनले भने, ‘हाम्रो पार्टीमा कोही पनि एकता विरोधी हुनुहुन्न । तर हतारमा एकता गर्नु हुँदैन । सबै कुरा टुङ्ग्याएर एकता गरौँ भन्नेमा सबै हुनुहुन्छ । सम्मानित नेता खनाल र महासचिव भुसालले पनि परिपक्क तरिकाले जाउँ भन्नुभएको छ । अहिले टुङ्ग्याउनुपर्ने कुरा अहिले नै टुङ्ग्याऔँ पछिको कुरा बिस्तारै टुङ्ग्याउँदै जाऔँ भन्ने छ ।’

माओवादी र समाजवादीबीच एकताको गृहकार्य सकारात्मक रूपमा अगाडि बढेको र छिट्टै एकता हुने ज्वालाको दाबी छ । उनले भने, ‘पोजेटिभ रूपमा कुरा अगाडि बढेको छ । सैद्धान्तिक कुराहरू सबै मिलिसकेको छ । संगठनात्मक कुराहरूका बारेमा छलफल जारी छ । बहुपदमा जाने कि नजाने । संयोजक सहसंयोजक बनाएर जानेकि भन्ने बारेमा छलफल भइरहेको छ । सबै कुरा मिलेपछि एकता हुन्छ ।’

मार्क्सवाद लेनिनवाद मान्य

एकता हुँदा मार्क्सवाद र लेनिनवाद मात्र मान्ने गरी सहमति भएको ज्वालाले बताए । उनले भने, ‘मार्क्सवाद र लेनिनवाद मान्ने सहमति भएको छ । नेपाली जनताको प्रमुख अन्तर्विरोध दलाल पुँजीवादसँग हो । नेपाली समाज अनुसारको समाजवादमा जान्छौँ ।’ पार्टीको मार्गदर्शक सिद्धान्त मार्क्सवाद–लेनिनवाद हुने, पार्टीको संगठनात्मक सिद्धान्त जनवादी केन्द्रीयता हुने, पार्टीको रणनीतिक लक्ष्य नेपाली विशेषताको समाजवाद हुने गरी एकताको आधार तयार भइरहेको छ ।

नेपाली क्रान्ति जनवादी चरण पूरा गरेर समाजवादी चरणमा प्रवेश गरेको दुवै पार्टीले मान्दै र भन्दै आएका छन् । आमनेपाली जनता र दलाल नोकरशाही पुँजीपति वर्गबीचको अन्तर्विरोधलाई वर्तमान नेपाली समाजको प्रधान अन्तर्विरोध रहेको दुवै पार्टीका दस्तावेजमा उल्लेख गरेको पाइन्छ ।

माओवादीले मान्दै आएको माओवाद र एसले मान्दै आएको जनताको बहुदलीय जनवाद एकतापछि भने छोड्ने र नेपाली विशेषता अनुसारको समाजवाद मान्ने सहमति भएको नेताहरू बताउँछन् ।

नाम र संठनात्मक कुरा बाँकी

एकतापछि नेकपा राख्ने कि भन्नेमा छलफल भएको ज्वाला बताउँछन् । उनले भने, ‘नेकपा राख्ने कि भन्ने भएको छ । तर अरु नामका बारेमा पनि छलफल जारी रहेको छ । नेकपा समाजवादी, नेपाली कम्युनिस्ट पार्टी आदि । चुनाव चिह्नका बारेमा पनि छलफल भइरहेको छ ।’

दुई पार्टीबीच एकता हुँदा नेतहरूको व्यवस्थापनको बारेमा बढी चासो र चिन्ता रहेको छ । नेताहरूको व्यवस्थापनको बारेमा चासो हुनु स्वाभाविक भएकाले पेचिलो पनि यही कुरा भएको माओवादीका एक नेता बताउँछन् । माओवादीका एक नेताले भने, ‘दुवै दलका नेताहरूको व्यवस्थापनको कुरा बढी पेचिलो भएकाले बहुपदमा नजाने कि भन्ने बारेमा छलफल भइरहेको छ । त्यस्तो हुँदा एक जना संयोजक अथवा महासचिव मात्र हुने व्यवस्था गरेर जानेगरी पनि छलफल भइरहेको छ ।’

बहुपदमा जाँदा नेतृत्वको व्यवस्थापन बढी पेचिलो हुने हुँदा नेताहरूको व्यवस्थापन सहज हुने गरी संगठनात्मक संरचना बनाउने गरी छलफल भइरहेको नेताहरू बताउँछन् । ज्वालाका अनुसार नेताहरूको व्यवस्थापन भन्दा पनि बहुपदमा नजाने कि भनेर छलफल भइरहेको छ । उनले भने, ‘संयोजक र सहसंयोजक बनाएर जाने कि भन्ने छ । यस्तो भएमा संयोजक सहसंयोजक हुन्छन् । अरु सबै केन्द्रीय सदस्य हुन्छन् । अथवा पार्टी निर्देशक समिति बनाउने अरु केन्द्रीय सदस्य रहने पनि हुनसक्छ । विभिन्न मोडालिटीमा छलफल भइरहेको छ ।’

केही समयपहिला खनालले माओवादीसँग एकता गर्नु हुँदैन भन्दै पदाधिकारी बैठकमा लिखित प्रस्ताव पेस गरेका थिए । अहिले पनि खनाल पहिलाकै अडानमा रहेको उनी निकट मानिने रामेश्वर श्रेष्ठ बताउँछन् । उनले भने, ‘मेरो हिजो कुरा भएको छ । उहाँले माओवादीसँग एकता हुँदैन । नयाँ तरिकाले जाने हो भन्नुभएको छ । के हो नयाँ तरिका खुलाउनुभएन । सुनेको छु नारायणकाजी श्रेष्ठ अध्यक्ष हुने । घनश्याम भुसाल महासचिव हुने र नयाँ पार्टी बनाउने । तर के हो प्रस्ट थाहा छैन ।’

खनाल अहिले पनि श्रीमतीको उपचारको सिलसिलामा भारतमा छन् । उनले आफ्नो प्रस्तावमा भनेका छन्, ‘कमरेडहरू यतिबेला हाम्रो पार्टीका निम्ति कसैसँग पनि पार्टी एकीकरण गर्ने मौसम होइन र छैन । हामी कोही पनि गलत बाटो हिँड्दै भड्खालोमा पर्ने र अरुलाई समेत पार्ने दिशामा नलागौँ ।’

माओवादीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १९ असोजमा पेरिसडाँडामा बसेको महाधिवेशन आयोजक समितिको सचिवालय बैठकमा पनि ‘ब्रिफिङ’ गर्दै एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेसपा नेता महिन्द्र राय यादव एकताको लागि तयार भइसकेको बताएका थिए ।

प्रचण्डले भनेका थिए, ‘समाजवादी मोर्चामा भएका सबै दलसँग एकताको कुरा भएको छ । एकताका लागि धेरै कुरा अगाडि बढेको छ । माधव नेपाल र यादवजीसँग छिट्टै एकता हुन्छ । यो महिनाभित्र एउटा निष्कर्षमा पुग्छौँ । दुई–चार दिन हेरौँ । त्यसपछि औपचारिक रूपमा नै एकताको विषयमा अरु ठोस निर्णय गरेर जानुपर्छ ।’

एकताका लागि लामो समयदेखि दुई पार्टीबीच छलफल भए पनि ठोस रूपमा निष्कर्षमा पुग्न नसकेको महासचिव घनश्याम भुसालले बताए । उनले भने, ‘छलफल जारी छ । तर अहिले नै एकता हुन्छ भनेर भन्न सकिँदैन । पार्टीहरूबीच एकताको लागि छलफल जारी छ ।’

माओवादीलगायत कम्युनिस्टसँग पार्टी एकता गर्न एसले १० असोजमा वरिष्ठ नेता वेदुराम भुसालको नेतृत्वमा वार्ता टोली गठन गरेको थियो । वार्ता टोलीमा वरिष्ठ नेता प्रमेश हमाल र उपाध्यक्ष प्रकाश ज्वाला सदस्य छन् । जेन–जी प्रर्दशनपछि राजनीति बढी ध्रुवीकरण भइरहेको छ । भदौमा बनेको अन्तरिम सरकारले आउँदो फागुन २१ गते निर्वाचनको मिति घोषणा गरेको छ । उक्त निर्वाचनको लागि कार्तिक मसान्तसम्म निर्वाचन आयोगमा दल दर्ता गरिसक्नु पर्नेछ । निर्वाचन आयोगमा दल दर्ता गर्नुभन्दा पहिला नै माओवादी केन्द्र र एकीकृत समाजवादीबीच एकता हुने तयारी रहेको ज्वालाले बताए । उनले भने, ‘निर्वाचन आयोगमा दल दर्ता हुनुभन्दा पहिला नै दुई पार्टीबीच एकता गर्नु पर्ला नि । अब केही कुरामात्र मिल्न बाँकी छ ।’

एकताको मुखैमा पुगेको भनिएको माओवादी–एसको एकता यही कात्तिक १४ गतेभित्र घोषणा हुने पनि चर्चा चलिरहेको छ ।