Bagmati Samachar Logo

एमाले बैठकमा कसैले मागे हाकाहाकी ओलीको राजीनामा, कसैले विकल्प छैन भने

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपीको पक्ष र विपक्षमा नेताहरू देखिएका छन् । बैठकको अन्तिम दिन आज केही केन्द्रीय सदस्य, पोलिटब्युरो र स्थायी कमिटी सदस्यहरूले धारणा राखेका थिए । आज धारणा राख्दा कोही ओलीको विपक्षमा कडा रूपमा उभिएका छन् भने कोही पक्षमा उभिएका छन् । केन्द्रीय सदस्य सुशीला नेपालले अध्यक्ष ओलीको प्रतिवेदनमाथि समर्थन रहेको बताएकी छिन् । उनले यस्तो समयमा अध्यक्षको राजीनामा माग्न नहुने धारणा राखेकी छन् ।

मनकुमारी जीसीले संकटको समयमा अध्यक्षलाई झन् संकट पार्नु नराम्रो मात्र नभएर पीडादायी भएको बताइन् । उनले भनिन्, ‘अध्यक्ष ओलीको जन्मघर र म्युजियम बन्दै गरेको बालकोट घर जल्दै गर्दा आँखाबाट आँसु बगे । तर, आँसु ओभानो हुन नपाउँदै अध्यक्षलाई संकट पार्ने काम भइरहेको छ । यो पीडादायी छ ।’

आनन्द पोखरेलले जेन–जी आन्दोलनका कारणभन्दा पनि हाम्रो दृष्टिकोणका कारण समस्या आएको बताए । उनले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई सदस्यता दिएर पार्टीमा ल्याउनुपर्ने बताए । पोलिटब्युरो सदस्य सूर्य थापाले प्रतिवेदनमा पूर्ण समर्थन गरेका छन् । उनले अप्ठेरोमा खुट्टा तान्ने, चलखेल गर्ने र अध्यक्षको राजीनामा माग्ने प्रवृत्ति गलत भएको बताएको स्रोतले बतायो ।

पोलिटब्युरो सदस्य राजेन्द्र रावलले अध्यक्ष र पार्टीमाथि हमला हुँदा महासचिव, उपमहासचिव मात्र प्रतिरक्षामा बोलेको तर अरु नेताहरू किन चुप लागेको भन्दै प्रश्न गरे । उनले भने, ‘अध्यक्ष र पार्टीमाथि हमला भइरहेको समयमा राजीनामा माग्ने ? नेतृत्वलाई सुरक्षा दिनुपर्छ, सुरक्षित बनाउनुपर्छ । अझै अध्यक्षमा केपी ओलीलाई ल्याउनुपर्छ ।’

खेममान खड्काले अध्यक्ष केपी ओलीको विकल्प खोज्नु गलत भएको बताए । उनले जेन–जी आन्दोलनपछि भूगोल, जनता तथा कार्यकर्तामा ओलीप्रतिको सम्मान, भरोसा झन् बढेको धारणा राखे । वैजनाथ चौधरीले राज्य संरचना सुधार गर्न, सुशासन र डेलिभरी जनतामा पुर्‍याउन नसक्दा अहिलेको समस्या आएको बताए ।

सुजिता शाक्यले विधान महाधिवेशनको भावनाभन्दा बाहिर जान नहुने धारणा राखिन् । उनले भनिन्, ‘नेतृत्वको विरोध गर्नु भनेको पार्टीको विरोध गर्नु हो । अध्यक्षलाई दोष लगाउनेप्रति खेद प्रकठ गर्छु । यो आत्मालोचना गर्ने समय होइन । पार्टी एकता गर्ने बेला हो ।’

लीलाबहादुर थापाले जेन–जी घटना अन्तर्राष्ट्रिय र आन्तरिक भएको बताए । उनले अब माफी मागेर जनतामा जान सक्नुपर्ने बताए । उनले भने, ‘पार्टी रुपान्तरण र परिमार्जित गरेर जानुपर्छ । कम्युनिस्ट आन्दोलन कसैको पेवा होइन । प्रत्यक्ष निर्वाचित कार्यकारी पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा जानुपर्छ ।’

पोलिटब्युरो सदस्य नारदमुनि रानाले संसद पुनर्स्थापनाको आन्दोलनमा पार्टी जाने भए मंसिरमा महाधिवेशन हुन नसक्ने बताए । पोलिटब्युरो सदस्य गोकुल बाँस्कोटाले आफूहरूले जनताको माझमा गएर के भन्ने हो भन्दै बैठकमा प्रश्न गरे । उनले विद्या भण्डारीलाई सदस्यता दिएर केही नबिग्रने बताए ।

पुरुषोत्तमम पौडेलले नेतृत्व सीमित घेराभित्र भएको बताए । उनले भने, ‘युवाहरूलाई गोलबद्ध गर्नुपर्छ भन्ने एजेन्डा खोइ रु पार्टीभित्रको आन्तरिक लोकतन्त्र खोइ रु ७० वर्ष उमेर कटेकाहरू बिदा हुनुहोस् । गर्न बाँकी केही छैन तपाईंहरूले ।’

गणेश ठगुन्नाले नेतृत्वलाई आरोपित गर्ने कुरा गलत भएको बताए । उनले प्रतिनिधिसभा प्रत्यक्ष र राष्ट्रियसभा समानुपातिक बनाउनुपर्ने बताए । उनले भने, ‘न्यायाधीश र संवैधानिक आयोगका प्रमुखहरू खुल्ला प्रतिस्पर्धाबाट गरिनुपर्छ ।’

विशाल भट्टराईले देश निर्माणमा कुनै योगदान नगरेकाहरूले देश बनेन, बरबाद भयो भनिरहेको बताए । उनले भने, ‘संसद पुनर्स्थापनापछि के गर्ने हो, स्पष्ट हुनुपर्छ । जीवनभरि एमालेको पक्षमा समाचार नलेख्ने मिडियाधारी र संवाददाताहरू सचिवालयका नेता नबनून् । देशमा विकास भइरहेको छ भनेर जनतालाई बुझाउन सकेनौँ ।’

रामदयाल मण्डलले भ्रष्टाचार व्यापक भएको, सुशासन कमजोर भएको बताए । उनले भने, ‘एमालेका नेताहरूको छानबिन समिति बनाएर सम्पत्ति छानबिन गर्नुपर्छ । यहाँ विचार राख्न पाइँदैन । पार्टी विरोधी भयो भनिन्छ । यो गलत हो । विचारलाई फरकाकिलो बनाउनुपर्छ ।’

सुमन प्याकुरेलले खाली दिमाग सैतानका घरु भनेजस्तै उपाध्यक्षहर बिनाकाम बसेको बताए । उनले भने, ‘उपाध्यक्षहरू खाली समयमा काम नपाएर यसोउसो कुरा गरिराख्नुभएको हो कि रु जेन–जीका मागहरू कम्युनिस्ट पार्टी स्थापना हुँदाकै माग छन् । जेन–जीको विद्रोह सही थियो ।’

ठाकुर गैरेले संविधान जारीपछिका महत्त्वपूर्ण काम गर्न नसकेको बताए । उनले भने, ‘संविधान जारी भएपछिका सबै राजनीतिक कामहरूको समीक्षा हुनुपर्छ । आत्मालोना गर्नुपर्छ । पुनर्गठनलाई नेताको विरोधको रूपमा बुझ्नु हुँदैन ।’

रामेश्वर फुयाँलले केपी ओलीलाई पुनः नेतृत्वमा ल्याउने हो भने मात्र महाधिवेशन गर्नुपर्ने बताए । उनले भने, ‘आउँदो महाविधेशनमा केपी ओलीलाई अध्यक्ष बनाउने हो भने मात्र महाधिवेशन गरौँ । केन्द्रीय कमिटीका सबैको सम्पत्ति गोरखापत्रमा सार्वजनिक गरौँ । यहाँ देशको छ चिन्ता तिमी माया माया भन्छौ नेताज्यूहरू ।’

बामगती प्रदेशका अध्यक्ष कैलाश ढुंगेलले पूर्वराष्ट्रपति भण्डारीको सदस्यता नवीकरण गर्नुपर्ने बताए । लुम्बिनी प्रदेश अध्यक्ष राधाकृष्ण कँडेलले कमजोरी स्वीकारेर जनतामा जानुपर्ने बताए । उनले भने, ‘संसद पुनर्स्थापनाका बारेमा स्पष्ट भएर जानुपर्छ । यदि संसद पुनर्स्थापना भएमा संविधानका कुनकुन बुँदा, धारा संशोधन गर्ने भनेर स्पष्ट हुनुपर्छ । भूगोलमा हामीले सोचेजस्तो परिस्थिति छैन ।’

कर्णाली अध्यक्ष गुलाबजंग शाहले जेन–जीको आन्दोलन केपी ओली र एमालेप्रति मात्र नभएर संविधान र देशप्रति नै भएको बताए । उनले भने, ‘संकटको समयमा पार्टी पुनर्गठनको मुद्दा उटाउनु गलत हो । सबै एक ढिक्का भएर जानुपर्छ ।’ विणा श्रेष्ठले जेन–जीलाई बोलाएर छलफल गरेको भए यति ठूलो क्षति नहुने धारणा राखेकी छिन् । उनले भनिन्, ‘पहिलो दिनको प्रदर्शनपछि जेनजीसँग छलफल गरेको भए यति ठूलो क्षति हुँदैनथ्यो । पूर्वराष्ट्रपतिलाई पार्टीमा ल्याउनुपर्छ ।’

किशोरविक्रम श्रेष्ठले नेतृत्वको रक्षाका लागि सामूहिक एकता चाहिएको बताए । उनले भने, ‘जेन–जीको आन्दोलन हुँदा पनि हामी सरकारको नेतृत्वमा भएकाले विश्लेषणात्मक अध्ययन गर्नु सकेनौँ कि १’ पोलिटब्युरो सदस्य पार्वत गुरुङले परिस्थितिअनुसार एजेन्डा नभएको बताए । उनले भने, ‘नेतृत्व परिवर्तन र राजीनामा माग्नु गलत र गम्भीर विषय हो । घरमा श्रीमान् श्रीमती झगडा हुँदा कोही पाहुना आउँदा मिल्ने स्थिति हुन्छ तर यस्ता परिस्थिति आउँदा पनि हाम्रो पार्टीमा झगडा झन् बढ्यो ।’

नरुलाल चौधरी आफ्नो दाङ जिल्लामा पार्टीलाई जनतामाझ लगेर परीक्षण गरेको बताए । उनले भने, ‘हामीले पार्टीलाई जनतामाझ लगेर परीक्षण गरेर पास भइसेको छ । अन्य पार्टी आत्तिएका छन् । पार्टीले नेतृत्वमाथि प्रश्न उठाउनु गलत हो ।’ शान्ता चौधरीले २३ भदौको घटनाका बारेमा सुइँकोसम्म नपाउनु ठूलो गल्ती भएको बताइन् । उनले नेतृत्वको विकल्प खोज्ने समय नभएको भन्दै बताइन्, ‘नेतृत्वको घेराबन्दी छ । यो घेरा ठूलो बनाएर जानुपर्छ । नेतृत्वको विकल्प खोज्ने समय भएको छैन ।’

निरुदेवी पालले नेतृत्वको राजीनामा माग्नु गलत भएको बताइन् । उनले भनिन्, ‘केपी ओली राष्ट्र र राष्ट्रियताको पक्षमा उभिनु गलत र कमजोरी हो र राजीनामा दिनुपर्ने रु’ जुली कुमारी महतोले अवस्था सोचेजस्तो नभएको बताइन् । उनले भनिन्, ुनेता कार्यकर्ताका घरहरू जलेका छन् । नेताहरूले जिल्लाजिल्लामा गएर कार्यकर्ताहरूलाइ हौसला दिनुपर्छ । नेता कार्यकर्ताको मनोबल उठाउनुपर्छ ।’

केन्द्रीय कार्यालय सचिव भीष्म अधिकारीले सोसल मिडियामा हाम्रो भूमिका सशक्त हुन नसक्दा डिजिटल लडाइँमा हामीले ठूलो क्षति बेहोरेको बताए । उनले भने, ‘निराश भएका पार्टी पंक्तिलाई उत्साहित बनाउने कार्ययोजना ल्याऔँ । जहाज दुर्घटनामा पुग्न लागेको विषम परिस्थितिमा क्याप्टेनलाई झन् हतोत्साहित र असहयोग गर्नु हुँदैन ।’

अत्युत मैनालीले देश जलिरहेको अवस्थामा पार्टी महाधिवेशन गर्नु गलत भएको बताए । उनले भने, ‘महाधिवेशनमा निर्वाचित हुने चलखेल भइरहेको छ । सर्वसम्मत नेतृत्व चयन हुनुपर्छ ।’

मञ्जु चौधरीले सेवा सुविधा त्यागेर एमाले भइसकेकी पूर्वराष्ट्रपति भण्डारीलाई पार्टीमा ल्याउनुपर्ने बताइन् । उनले भनिन्, ‘एमाले भएको भएर उहाँको घर जलेको हो । उहाँलाई अब पार्टीमा आउनबाट रोक्नु हुँदैन ।’

ज्वालाकुमारी साहले ओलीको राजीनामा माग्नेलाई इतिहासले माफी नदिने बताइन् । उनले भनिन्, ‘केपी ओलीको राजीनामा माग्नेलाई इतिहासले माफी दिने छैन । विदेशी षड्यन्त्रकारीको षड्यन्त्र हो । राजीनामा माग्नेहरू पार्टीविरोधी, देशविरोधीहरू हुन् ।’