अखिलले दिएको बालेन र सुदनविरुद्धको जाहेरीमा केरमेट भएको भन्दै प्रहरीले लिन मानेन
काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाह र हामी नेपालका संस्थापक सुदन गुरुङविरुद्ध नेकपा एमाले निकट अनेरास्ववियु केन्द्रीय समितिले दिएको जाहेरीमा केरमेट भएकाले बुझ्न नसकिएको जिल्ला प्रहरी परिसरले जनाएको छ ।
अखिलका पूर्वअध्यक्ष समिक बडाल, महासचिव दीपक धामी लगायत हिजो परिसरमै पुगेर जाहेरी बुझाएको थियो ।
उक्त जाहेरी दर्ता नगरी प्रहरीले २४ घण्टापछि जवाफ दिने बताएको थियो ।
परिसरका प्रवक्ता एवं एसपी पवन भट्टराईका अनुसार, अखिलले बुझाएको जाहेरी केरमेट भएका कारण बुझ्न असहज भएको छ ।
उनले भनेका छन्, ‘केरमेट भएका कारण प्रष्ट हुन सकेनौं । केरमेट भएकाले हामीले त्यसलाई अघि बढाएनौं ।’
अखिलले तीन वटा विषयलाई लिएर जाहेरी दिएको थियो । सार्वजनिक सम्पत्तिको तोडफोड, युवा हत्या र जासुसी गरिरहेको विषयलाई लिएर अखिलले जाहेरी दिएको महासचिव धामीले बताएका छन् ।
उनका अनुसार, अहिले अखिलका केही विद्यार्थी नेताहरू फेरि परिसरमा पुगेका छन् ।
यसअघि तत्कालीन गुरुङको टिमले प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकविरुद्ध जाहेरी दिएका छन् । भदौ २३ गते भएको घटना मानवताविरुद्धको अपराध भएको भन्दै जेनजी आन्दोलनका मृतकका परिवार जाहेरी दिन पुगेका थिए ।
प्रतिक्रिया दिनुहोस्: