Bagmati Samachar Logo

बहुमतको दम्भ नदेखाउन चेतावनी दिँदै नारायणकाजीले भने– हाम्रो अवस्था पनि ओलीको जस्तै नहोस्

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठले पार्टीमा बहुमतको दम्भले राम्रो ठाउँमा नपुर्‍याउने बताएका छन् ।

माओवादीको केन्द्रीय समितिको सातौँ पूर्ण बैठकको समापमा बोल्दै श्रेष्ठले भने, ‘बहुमतको कुरा मान्नुपर्छ मान्छु तर बहुमतको दम्भले ठीक ठाउँमा पुर्‍याउँदैन ।’

श्रेष्ठले बैठकको सुरुमा फरक मत राखेका थिए । उनको फरक मतको पक्षमा बैठकमा केही नेताहरूले मात्र समर्थन गरेका छन् ।

बैठक समापनमा श्रेष्ठले भने, ‘कम्युनिस्टले बहुमतको निर्णय अल्पमतले मान्नुपर्छ । म पनि मान्छु । तर, बहुमतको दम्भबाट सबै बाहिर निस्कनुपर्छ । हाम्रै आँखाअगाडि दुई तिहाइको दम्भ भएको सरकार कसरी ढल्यो थाह नै छ । यहाँ पनि बहुमतको दम्भले सबैलाई सक्छ ।’

श्रेष्ठले बहुमत सत्य नहुन सक्ने बताएका छन् । उनले भनेका छन्, ‘ओलीको बहुमतले देशलाई यो ठाउँमा पुर्‍याएको छ, हाम्रो अवस्था अवस्था पनि त्यस्तै नहोस् । फरक विचार फरक सोचलाई बहुमतले दबाउनु हुँदैन ।’

श्रेष्ठले आफूले ‘योभन्दा दुखद् अवस्था भोग्नु नपरोस्’ भनेर फरक प्रस्ताव राखेको बताए । उनले भने, ‘प्रमुख नेतामाथि प्रश्न उठेकाले जेन–जी आन्दोलन भयो । यो अवस्था झन विकराल नहोस् बचाउनसम्म बचाउँ भनेर आफूलाई संयोजक बनाएर जाउँ भनेको हुँ । मैले अध्यक्षलाई हटाएर हुन खोजेको होइन ।’

उनले आफ्नो विचारलाई पनि तल्ला समितिमा छलफलको लागि लैजानुपर्ने र महाधिवेशनमा राख्नुपर्ने माग राखेका छन् ।