Bagmati Samachar Logo

महाधिवेशनमा प्रचण्ड अध्यक्षको प्रतिस्पर्धामा आउनुहुन्न, अभिभावकको रुपमा बस्नुहुन्छ : वर्षमान पुन

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुनले आगामी मंसिरमा हुने विशेष महाधिवेशन पुष्पकमल दाहाल ‘प्रचण्ड’ अध्यक्षको प्रतिस्पर्धा नगर्ने बताएका छन् ।

आज पार्टी केन्द्रीय समितिको सातौँ पूर्ण बैठक सकेर कमलादीस्थति प्रज्ञा प्रतिष्ठानबाट बाहिरिने क्रममा नेता पुनले सो कुरा बताएका हुन् । विशेष महाधिवेशनमा प्रचण्ड अभिभावकको भूमिकामा रहने उनले बताए ।

‘कमरेड प्रचण्ड अध्यक्षको रुपमा रहनुहुन्न, उहाँले भनिसक्नुभएको छ उहाँले प्रतिस्पर्धा गर्नुहुन्न, उहाँको आफ्नो भूमिका राजनीतिक होला, अभिभावकीय होला, त्यो अलग कुरा हो तर संकठनात्मक नेतृत्व वा अध्यक्षको लागि उहाँले कम्पिटिसन गर्नुहुन्न,’ पुनले भने ।

त्यस्तै, उनले युवा र जनताले नचाहेमा पार्टीका दोस्रो र तेस्रो पुस्ताका नेताहरू पनि पदत्याग गर्न तयार रहेको बताए । ‘हामी आफ्नो तर्फबाट पनि त्याग गर्न तयार छौँ । देश रहनुपर्छ, लोकतन्त्र रहनुपर्छ, अहिलेको भन्दा अझ राम्रो व्यवस्था, अझ राम्रो नेता अहिलेको भन्दा अझ राम्रो परिवेश बनोस् हामी सबैले आ–आफ्नो ठाउँबाट त्याग गर्न तयार छौँ, हिजो हामी युद्धमा ज्यान त्याग गर्न हिँडेका, त्यो बलिदानले संघीयता, गणतन्त्र र अहिलेको अवस्था आएको हो । अब हामी आफ्ना पद, प्रतिष्ठा र ठाउँहरू छोड्न तयार छौँ । तर, देश अगाडि जानुपर्छ, देश बच्नुपर्छ, व्यवस्था रहनुपर्छ । युवाहरूका भावना अभिव्यक्त हुनुपर्छ’, पुनले भने ।

उनले जेन–जी आन्दोलनपछि बुद्धि फिरेको बताउँदै आगामी दिनमा फरक ढङ्गले आउने प्रतिबद्धता व्यक्त गरे ।