ओली–लेखक र देउवा दम्पतीको पासपोर्ट रोक्का हुनसक्ने सरकारका प्रवक्ताको स्वीकारोक्ति
काठमाडौं । सरकारले निर्वतमान प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकसहित कांग्रेस सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणाको पासपोर्ट रोक्का गर्न सक्ने छनक दिएको छ ।
मन्त्रिपरिषद् बैठकले यसबारे आज कुनै ठोस निर्णय गरेको छैन । सञ्चारकर्मीहरूले यसबारे मन्त्रिपरिषद् बैठकबाट बाहिरिन लागेका सरकारका प्रवक्ता जगदीश खरेललाई प्रश्न सोधे । तर उनले नेताहरूको पासपोर्ट रोक्काबारे पत्रकारले सोधेका प्रश्नको स्पष्ट जवाफ दिएनन् । यद्यपि अनुसन्धान भइरहेको बताए ।
उनले भने, पासपोर्ट रोक्काको सम्बन्धमा तथा भ्रष्टाचारसँग जोडिएकाहरूको सम्बन्धमा राज्यका संयन्त्रहरूले अनुसन्धान गरिरहेको कुरा अवगत गराउन चाहन्छु ।
सञ्चारमन्त्री खरेलको जवाफमा चित्त नबुझेपछि पत्रकारले फेरि सोधे– पासपोर्ट रोक्काको खास कुरा के हो ? त्यसपछि मन्त्री खरेलले भने, राहदानीको सम्बन्धमा पनि के कस्तो गर्ने भनेर अनुसन्धान चाहिँ अगाडि बढेको छ ।
जेन–जी आन्दोलनमा दमन गरेको र भ्रष्टाचार गरेको रकम घरमा थुपारेर राखेको बारे सरकारले अनुसन्धान सुरु गरेपछि शीर्ष नेताहरू विभिन्न बहानामा देश छोडेर जानसक्ने भन्दै उनीहरूको पासपोर्ट रोक्का गर्न लागेको खबर आमसञ्चारमाध्यमसँगै सामाजिक सञ्जालमा डढेलोसरी फैलिएको थियो ।
आजै बस्ने मन्त्रिपरिषद् बैठकले पासपोर्ट रोक्कासम्बन्धी निर्णय गर्न लागेको खबर पनि बाहिरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्: