Bagmati Samachar Logo

माओवादी बैठक : नारायणकाजीले अध्यक्ष मागे

काठमाडौं । नेकपा माओवादी केन्द्रको जारी केन्द्रीय समिति बैठकमा वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले आफूले अध्यक्ष पाउनु पर्ने र प्रचण्डलले विदा लिएर सम्मानित रुपमा बस्नु पर्ने प्रस्ताव गरेका छन् ।

माओवादीको जारी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बोलेपछि बोलेका श्रेष्ठले अब अध्यक्ष प्रचण्डले विदा लिएर आफूलाई अध्यक्ष दिनु पर्ने प्रस्ताव राखेको एक केन्द्रीय सदस्यले बताए । ती केन्द्रीय सदस्यले श्रेष्ठको भनाई उदृत गर्दै भने, ‘अब अध्यक्ष प्रचण्डले विदा हुनु पर्छ । मैले अध्यक्ष हुनु पर्छ । अरु साथिहरुले सहयोग गर्नु पर्छ ।’

श्रेष्ठले पछिल्लो समयमा आफूले नेतृत्व पाउनु पर्ने माग गर्दै आएका छन् । दुई दिन पहिला बसेको स्थायी समितिको बैठकमा पनि आफूले कार्यबाहक अध्यक्ष पाउनु पर्ने माग राखेका थिए ।

श्रेष्ठले आगामी मंसिरमा विशेष महाधिवेशन संभव नभएको पनि बताएका ती केन्द्रीय सदस्यले बताए ।

ती सदस्यले श्रेष्ठको भनाइ भन्दै भने , ‘मंसिरमा विशेष महाधिवेशन संभव छैन । निर्वाचन पछि महाधिबेशन गर्नु पर्छ । महाधिवेशन गर्दा हतारोमा होइन विचार, संगठन र नेतृत्वको विषयमा गहन छलफल गर्नु पर्छ ।’

अध्यक्ष प्रचण्डले बैठकमा पहिला कुरा राखेका थिए । उनले आजको बैठकमा विधिबाटै नेतृत्व हस्तान्तरण गर्ने बताएका छन् ।

प्रचण्डले सम्बोधनमा नेतृत्व सँधै आफ्नै हातमा हुनुपर्छ भन्ने नसोचेको बताएका थिए । उनले भनेका छन्, ‘कसैले कसैलाई नेतृत्व गर भनेर दिर्दैन । नेतृत्व आवश्यकताले जन्मने हो । नेतृत्व आन्दोलनबाट जन्मन्छ । यो हस्तान्तरण गरेर सर्ने कुरा होइन । विधि र प्रक्रियाबाटबाटै नेतृत्व हस्तान्तरण हुन्छ ।’

प्रचण्डले केन्द्रीय समिति बैठकमा राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन् ।

प्रचण्डले बैठकमा महाधिवेशनमा जेनजी पुस्तालगायत युवाहरूको अधिकतम सहभागिता सुनिश्चित गराउने पनि बताएका छन् ।

आजै प्रदेश अध्यक्षबाट रिर्पोटिङ र समूहगत छलफल हुने छ । सुरुमा एक दिनलाई बोलाएको बैठक दुई दिनसम्म चल्ने छ ।