Bagmati Samachar Logo

बालेनले प्रधानमन्त्रीसँग बालुवाटारमा उठाए तीन सरोकार

काठमाडौं । काठमाडौं मेयर बालेन्द्र साहले प्रधानमन्त्री सुशीला कार्कीलाई भेट्न बिहान नौ बजे बालुवाटारस्थित सरकारी निवास पुगेका थिए । बालेन सहकर्मीहरू कुमार बेन र सुनील लम्साल साथैमा थिए ।

मेयर शाहले प्रधानमन्त्री सुशीला कार्कीलाई जेनजी आन्दोलनका मागहरू छिटो सम्बोधन गर्न आग्रह गरेका छन् ।

मेयर शाहले प्रधानमन्त्रीसँग तीनवटा मुख्य सरोकार राखे ।
एक– जेनजी आन्दोलनकारीका मागहरू सम्बोधन गर्न ढिलाई नहोस् । मेयर शाहले सुशासनको पक्षमा सडकमा उर्लिएको लहरलाई व्यवहारमा देखाउने बेला आएको भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् । त्यसमा कार्कीले उनको र नयाँ पुस्ताको साथ मागेकी छन् ।

दुई– भदौ २३ मा गोली चलाउने र आदेश दिनेमाथि कारबाही माग । बालेनले तत्कालीन प्रधानमन्त्री केपी ओली, गृहमन्त्री रमेश लेखकसहित चरम हिंसामा संलग्नमाथि कारबाही नहुँदासम्म यो माग उठिरहने भन्दै आवश्यक कदम चाल्न प्रधानमन्त्री कार्कीलाई आग्रह गरेका छन् ।

तीन– क्याबिनेटमा जेनजी सहभागिता । कार्कीले गठन गरेको मन्त्रिपरिषद्मा तुलनात्मक रुपमा योग्य र निष्ठावान पात्र देखिए पनि नयाँ पुस्ताले आफ्नो प्रतिनिधि नदेखेको भन्दै बालेनले असन्तोष जनाएका छन् । उनले बाँकी पदहरूमा नयाँ पुस्ताबाट छिटो मन्त्री बहाली गर्न समेत आग्रह गरेका छन् ।

यी तीनै मागमा प्रधानमन्त्री कार्की सकारात्मक देखिएकी छिन् । उनले सरकारले संविधान र कानुनसम्मत भएर कदम चाल्ने आश्वासन पनि दिएकी छन् ।