Bagmati Samachar Logo

टिकटकमा ‘झोले एक्सपोज’ ट्रेण्ड शुरु, निशानामा ओली

काठमाडौं । नेपाली कांग्रेस र एमालेको दुई तिहाइको गठबन्धन सरकारलाई ढाल्न सफल भएको ‘नेपो बेबी’ ट्रेण्डपछि टिकटकमा नयाँ ट्रेण्ड ‘झोले एक्सपोज’ सुरु भएको छ । उक्त ट्रेण्डको मुख्य निशानामा एमाले अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्रीसमेत रहेका केपी शर्मा ओली रहेका छन् ।

एमालेले केही समयअघि झोलाभित्र एकीकृत माक्र्सवाद लेनिनवाद र जबज (जनताको बहुदलीय जनवाद) को विचार राखिएको भन्दै सामाजिक सञ्जालमा ‘झोले’ अभियान चलाएको थियो । त्यतिबेला पार्टीको नेतृत्वदेखि कार्यकर्ताले निकै सक्रियताका साथ उक्त अभियान चलाएका थिए । अहिले जेन–जी समूहले सोही अभियानलाई आधार बनाएर ‘झोले एक्सपोज’ अभियान चलाएको हो ।

जेन–जी प्रदर्शनपछि राजनीतिक दलहरुभित्र पुनर्गठनको माग उठिरहेको बेला एमाले अध्यक्ष ओलीले भने नेतृत्व नछाड्ने घुमाउरो संकेत दिइसकेका छन् । सैनिक सुरक्षा घेराबाट निस्किएर भक्तपुरको गुण्डुमा नयाँ घर लिएर बसिरहेका ओलीलाई हाल पार्टीकै पोलिटब्युरो सदस्य महेश बस्नेतको सुरक्षामा राखेको बताइन्छ ।

हिजो उनै बस्नेतले हिजो बिहान ओलीसँग युवाहरुको फोटो सेसन राखेका थिए भने दिउँसो राष्ट्रिय युवा संघ र अनेरास्ववियुका कार्यकर्ताहरुलाई गुण्डुमा बोलाएर ‘आई लभ यु केपी बा’ को नारा लगाउन लगाएका थिए ।

यसरी ओलीका लागि नारा लगाउने युवाहरुलाई टिकटकमा भने ‘झोले’ भनेर संज्ञा दिइएको छ । अहिले टिकटकमा ओलीसँग फोटो खिच्ने र ‘आई लभ यु’को नारा लगाउनेहरुलाई समेत बहिष्कार गर्ने रणनीतिसहित ह्यासट्याग ‘एक्सपोज झोले’ ट्रेण्डले व्यापक रुप लिएको छ ।