Bagmati Samachar Logo

अध्यक्ष सुजन कडारियाको विरोध गर्दै अनेरास्ववियु बागमतीले माग्यो नयाँ नेतृत्व

काठमाडौं । नेकपा एमाले निकट अनेरास्ववियुमा जेन जीको प्रर्दशनबाट नयाँ विवाद सुरु भएको छ । अध्यक्ष सुजन कडरियाले २३ भदौमा सामाजिक सञ्जालबाट अध्यक्ष पद र एमालेबाट राजीनामा दिए । त्यसको दुई दिन पछि राजीनामा फिर्ता लिए । तर अहिले त्यसको असर सिंगौ कमिटीमा परिरहेको छ ।

कडरियाले कमिटीमा र अध्यक्षमा फर्कने भनेपछि अनेरास्ववीयुका बागमती प्रदेशका केन्द्रीय सदस्य तथा जिल्लास्तरीय नेताहरूले संगठनको अध्यक्ष डा.सुजन कडारियाको नेतृत्वको विरोध जनाउँदै तत्काल नयाँ नेतृत्व चयन गर्न माग गरेका छन्।

बागमती प्रदेशका केन्द्रीय सदस्य, जिल्ला अध्यक्ष र संयोजकहरूले संयुक्त रूपमा जारी गरेको ध्यानाकर्षण पत्रमा डा। कडारियाको पछिल्लो आचरण, राजनीतिक दोहोरोपन र राजीनामाको नाटकले संगठनको गरिमा र विश्वासमा ठेस पुर्‍याएको उल्लेख छ।

“संकटको घडीमा संगठनलाई बलियो बनाउनुपर्ने अध्यक्ष उल्टै भाग्ने, राजीनामाको नाटक गर्ने, सार्वजनिक रूपमा मौन रहँदा व्यक्तिगत रूपमा निराशावादी सन्देश प्रवाह गर्ने” जस्ता व्यवहारले विद्यार्थी आन्दोलन र संगठनप्रति निष्ठावान कार्यकर्ताहरूलाई भ्रमित बनाएको आरोप लगाएका छन् ।

पत्रमा कडारियाको राजीनामा सार्वजनिक भएपछि पनि “विद्यार्थी संगठन सकियो” भन्ने अभिव्यक्तिहरू संगठन र शहीदहरूको अपमान भएको दाबी गरिएको छ। नेताहरूले व्यक्तिगत स्वार्थ र राजनीतिक अवसरवादका आधारमा आन्दोलन सञ्चालन गर्न खोज्ने प्रवृत्तिको कडा विरोध गरेका छन्।

उनीहरुले तत्काल केन्द्रीय बैठक बोलाई नयाँ नेतृत्व चयन गर्न माग गरेका छन्। अध्यक्षको सामाजिक सञ्जालमार्फत सार्वजनिक राजीनामालाई स्वीकार गर्दै संगठनले नयाँ, जिम्मेवार र स्पष्ट दृष्टिकोण भएको नेतृत्व रोज्नुपर्ने उनीहरूको माग छ।

ध्यानाकर्षण पत्रमा भनिएको छ, ‘हामी सिंगो बागमती प्रदेशका हस्ताक्षरकर्ताहरू, केन्द्रीय अध्यक्षले सामाजिक सञ्जालमार्फत राजीनामा सार्वजनिक गरिसकेका अवस्थामा अनेरास्ववियुको तत्काल बैठक बसोस, र संगठनलाई नयाँ नेतृत्वको हातमा जिम्मेवारी सुम्पियोस् भन्ने स्पष्ट माग गर्दछौं । महाधिवेशनमार्फत प्राप्त भएको प्रतिनिधिको विश्वास, मत र म्यान्डेटलाई अपमान गर्ने व्यक्तिलाई किमार्थ स्विकार्न सकिदैन । संगठनलाई बचाउन अब स्वच्छ, दृढ र जिम्मेवार नेतृत्वको आवश्यकता छ । संगठनलाई अझ गहिरो संकटमा जान नदिन तुरुन्तै आवश्यक निर्णय लिनु आजको ऐतिहासिक आवश्यकता हो ।’