Bagmati Samachar Logo

प्रदर्शनकारीमाथि स्वचालित हतियारबाट गोली चलाइयो , यसबारे छानबिन होस् : ओली

काठमाडौं । निवर्तमान प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले २३ र २४ भदौमा भएको जेन जी आन्दोलनमा षड्यन्त्रकारीहरूले घूसपैठ गरी हिंसा मच्चाएको आरोप लगाएका छन् । २३ र २४ गतेको जेन जीको प्रर्दशनका कारण राजीनामा दिन बाध्य भएका थिए ओली । उक्त प्रर्दशनदेखि सेनाको सुरुक्षा घेरामा बस्दै आएका ओली बिहीबार मात्र भक्तपुरमा डेरा खोजेर बाहिर निस्केका छन् । ३ असोजमा उनले संविधान दिवसको दिन सामाजीक संजालमा एक सन्देश दिदै प्रर्दशनमा स्वचालित हतियार प्रयोग भएको र तर सरकारले गोली हान्न आदेश नदिएको बताए ।

उनले लेखेका छन्,‘गत साता जेनजीको शान्तिपूर्ण हुने भनिएको प्रदर्शनका क्रममा घूसपैठ भयो– आव्हानकर्ताले भनेझैं । त्यसमा घूसपैठ गर्ने षड्यन्त्रकारीहरूले हिंसा मच्चाए, हाम्रा युवाहरूको ज्यान गयो ।’

उनले प्रदर्शनकारीलाई ताकी ताकी गोली हान्ने आदेश सरकारले नदिएको बताए । उनले लेखेका छन्, ‘प्रहरीसँग नभएका स्वचालित हतियारले गोली हानेको घटनाको छानबिन हुनुपर्छ । त्यस घटनाप्रति म फेरि दुःख व्यक्त गर्दछु ।’

उनले अहिले नेपालको संविधानमाथि ठूलो आक्रमण भएको पनि जिकिर गरेका छन् । उनले भनेका छन्, ‘प्रधानमन्त्रीबाट मेरो राजीनामापछि सिंहदरबार जलाइएको छ, नेपालको नक्सा जलाइएको छ, देशको निशानी मेटाउन खोजिएको छ । जनप्रतिनिधि संस्था, न्यायालय, व्यापारिक प्रतिष्ठान र राजनीतिक दलका कार्यालय, तिनका नेता कार्यकर्ताको घर, व्यक्तिगत सम्पत्ति छानीछानी खरानी बनाइएको छ ।’

यो सबै एक षड्यन्त्र भएको र यसबारे आफूलाई थाहा भएको संकेत पनि उनले गरेका छन् । तर, यसबारे आज धेरै कुरा नभन्ने उनले लेखेका छन् । उनले भनेका छन्, ‘धेरै कुरा समयले आफैं बयान दिने छ । हाम्रो देश बनिरहेको थियो कि बिग्रेको थियो, वा देश बिग्रेको काल्पनिक भाष्य खडा गरेर, आक्रोश विस्तार मात्रै गरिएको थियो ? यी सबै कुरा हाम्रो नयाँ पुस्ताले आफैं महसुस गर्नेछ ।’