बागमतीका सभामुखले दिए राजीनामा
काठमाडौं । बागमती प्रदेश सभामुख भुवनकुमार पाठकले सभामुख पदबाट राजीनामा दिएका छन्।
उनले बुधबार उपसभामुखलाई सम्बोधन गर्दै संविधान र प्रदेश सभा नियमावली, २०७४ बमोजिम राजीनामा पत्र बुझाएका हुन्।
जेन जी प्रर्दशनको क्रममा २३ गते भदौ भएको प्रर्दशनमा १९ जनाको मृत्यु भएपछि उनले भदौ २४ गते भदौमा सामाजिक सञ्जालमार्फत राजीनामा दिएको घोषणा गरेका थिए ।
उनको राजीनामा पत्र प्रदेश प्रमुख, मुख्यमन्त्री तथा प्रदेश सभा सचिवालयलाई समेत पठाइएको छ। उनी राष्ट्रिय प्रजातन्त्र पार्टीबाट बागमती प्रदेशको सभामुख भएका थिए ।
जेनजी आन्दोलनका क्रममा भ्रष्टाचारविरुद्ध भएको प्रदर्शनमा अस्वाभाविक बल प्रयोग हुँदा राष्ट्रवादी युवाले ज्यान गुमाउनु परेको घटनापछि आफू गहिरो भावनात्मक आघातमा परेको पाठकले राजीनामा पत्रमा उल्लेख गरेका छन्।
जनताको चाहना र युवा पुस्ताको भावना विपरित पदमा बसिरहन उचित नहुने भन्दै राजीनामा दिने निर्णयमा पुगेको उनले बताएका छन्।
२८ पुस २०७९ मा भएको सभामुखको निर्वाचनमा पाठकले ६२ मत प्राप्त गर्दै सभामुख पदमा निर्वाचित भएका थिए।

प्रतिक्रिया दिनुहोस्: