प्रचण्ड फर्केर पार्टी कार्यालय पुगे, ओली र देउवा अझै सेनाको सुरक्षामा
काठमाडौँ । भदौ २३ र २४ गते जेन जी को विद्रोह पछि तत्कालीन प्रधानमनत्री र पूर्वप्रधानमन्त्रीहरु सेनाको सुरक्षामा बसीरहेका थिए । स्थिति सामान्य भएपछि पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सेनाको सुरक्षा घेराबाट फर्केका छन् । मंगलबार उनी पार्टी कार्यालय पेरिसडाँडा पुगेका छन् ।
तर निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली,पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा भने अझै सेनाको सुरक्षामा बसीरहेका छन् । देउवा दम्पतिमाथि कुटपिट हुँदा उपचार भइरहेको कांग्रेसले बताएको छ ।
२४ गते उच्च सुरक्षा चुनौतीका कारण नेपाली सेनाले निवर्तमान ओली, निवर्तमान मन्त्रीहरु, पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा, पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाललाई सुरक्षा दिएको थियो ।
भदौ २४ गते बिहान ओलीलाई प्रधानमन्त्री निवास बालुवाटारबाट सेनाले शिवपुरीस्थित ब्यारेकमा राखेको थियो । प्रचण्ड र माधव सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा विपक्षी दलको बैठकमा थिए । त्यहीँबाट सेनाले उद्धार गरी सुरक्षित स्थलमा राखेको थियो ।
सुरुमा भ्रष्टाचार र बेथितिविरुद्ध जेनजीले गरेको विरोध प्रदर्शनमा केपी ओली सरकारले दमन गर्दा १९ जनाको ज्यान गएको थियो ।
दमनपछि भड्किएको आन्दोलनकारीले राज्यका प्रमुख अंग कार्यपालिका, व्यवस्थापिका, न्यायपालिकाका प्रशासकीय भवन कब्जामा लिएर ध्वस्त पारेका थिए । राजनीतिक दलका कार्यालय, नेताका निजी निवास, व्यवसायी भवन लगायत देशैभरिका सरकारी सम्पत्तिमा आगजनी गरेका थिए ।
आगजनीमा देउवा र निवर्तमान परराष्ट्रमन्त्री डा.आरजु राणाको निवास बुढानीलकण्ठ ध्वस्त भएको छ ।
पूर्वप्रधानमन्त्री खनाल निवासमै भएको बेला प्रदर्शनकारीले आगजनी गरेको थियो । आगजनीमा परेर खनालकी श्रीमती रविलक्ष्मी चित्रकार गम्भीर घाइते भएकी छिन् । जेनजी आन्दोलनका क्रममा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको निवास जलाइए पनि उनी सेनाको ब्यारेकमा बसेनन्, आफन्तको घरमा बसे ।
नेपाल सोमबार नै पार्टी कार्यालय निरक्षण गर्न पुगेका थिए । खनालपनि फर्की सकेका छन् ।
प्रतिक्रिया दिनुहोस्: