Bagmati Samachar Logo

माओवादीले भन्यो– जेन–जी आन्दोलनमा हाम्रो संलग्नता छैन, कार्यकर्ता संलग्न भए कारबाही गरियोस्

काठमाडौं । नेकपा माओवादी केन्द्रले जेन–जी आन्दोलनमा आफ्नो पार्टीको संलग्नता नरहेको स्पष्ट पारेको छ । पार्टी प्रवक्ता अग्नि सापकोटाले आइतबार विज्ञप्ति जारी गर्दै आन्दोलनमा माओवादी केन्द्र नै सहभागी रहेको आरोप निराधार रहेको बताएका छन् ।

‘केही व्यक्ति वा समूहले यस्ता ध्वंसात्मक क्रियाकलापमा माओवादी कार्यकर्ताको संलग्नता भनी गरिएको प्रचारप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । यस्ता आधारहीन हल्ला फैलाएर हाम्रो पार्टी तथा आन्दोलनलाई कमजोर बनाउने प्रति सचेत रहँदै यस प्रकारका दुष्प्रचारबाट भ्रममा नपर्न हाम्रो पार्टी आम जनसमुदायमा हार्दिक अपिल गर्दछ,’ विज्ञप्तिमा उल्लेख छ ।

उनले यदि माओवादी कार्यकर्ताहरू सहभागी भएको प्रमाण आए कारबाही गर्न सरकारको ध्यानार्षण गराएका छन् ।

‘हाम्रो पार्टीका कार्यालयहरू, अध्यक्ष क। प्रचण्डलगायत दर्जनौँ नेता, कार्यकर्ता र परिवारका घर तथा अन्य सम्पत्तिमा आगजनी तोडफोड गर्ने कार्य भएका छन् । त्यो तथ्य जनतासामु प्रस्ट छ । यही उल्लेखित गतिविधिमा हाम्रो पार्टीसँग सम्बन्धित कोही कसैको संलग्नता देखिए हामी कडाभन्दा कडा कारबाही गर्न तयार छौँ । तथ्य र प्रमाण फेला परे सरकारले सख्त कारबाही गरोस् भनी आग्रह गर्दछौँ, विज्ञप्तिमा भनिएको छ ।