Bagmati Samachar Logo

एमालेले भोट हालेर सभामुख जिताएका कोशीमा सभामुख विष्टलाई गणतन्त्रविरोधीको आरोप

काठमाडौं । सत्तारुढ दल कांग्रेस–एमालेले कोशी प्रदेश सभाका सभामुख अम्बरबहादुर विष्टलाई हटाउने तयारीमा लागेका छन् । दुई दलका शीर्ष नेता सम्मिलित संयन्त्रको निर्णयका आधारमा यस्ता महत्वपूर्ण विषयका बारेमा छलफल हुन्छ ।

विष्टलाई सभामुखमा निर्वाचित गर्दा संघदेखि प्रदेशसम्म माओवादी केन्द्र , नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीसहितको गठबन्धन थियो । तत्कालीन सत्तागठबन्धनले भागबण्डा गर्दा कोशी र बागमती प्रदेश सभामा सभामुख राप्रपाले पाएको थियो । राप्रपाबाट विष्ट सभामुख बनेका थिए । तर तीन वर्ष पछि सभामुखले राजतन्त्रको वकालत गर्ने गरेको, गणतन्त्रलाई अस्वीकार गरेको लगायतका आरोप लगाएर एमालेले कांग्रेससँग मिले हटाउने तयारी सुरु गरेको बताइन्छ ।

गएको जेठ १४ गते प्रदेश सरकारद्वारा आयोजित गणतन्त्रसम्बन्धी छलफल कार्यक्रममा अतिथि निम्त्याएका सभामु्ख विष्ट उपस्थित भएका थिएनन् । कार्यक्रम चलिरहँदा उनी प्रदेशसभामै थिए । प्रदेश सरकारले गणतन्त्र दिवसका दिन आयोजना गरेको प्रभात फेरीमा पनि गयल देखिए ।

गणतन्त्र दिवसको कार्यक्रममा नआएको विषयमा आलोचना भयो । गणतन्त्र दिवस वहिष्कार गरेको टिप्पणी गरेपछि उनले मान्छेको ‘काम पर्दैन त ?’ भनेर जवाफ दिएका थिए ।

नेकपा एमालेका एक नेताले सभामुख फेर्नुपर्ने निचोडमा दुई दल पुगेको बताए । ‘छलफल भइरहेको छ । प्रक्रियामा कहिलेदेखि छिर्ने भन्ने टुंगिएको छैन’, उनले भने ।

यहाँ एमालेबाट सिर्जना दनुवार उपसभामुख छिन् । सभामुख फेर्दा कांग्रेसले मौका पाउनेछ ।

कोशीमा एमालेका उपसभामुख सहित ४१ जना र कांग्रेसका २९ जना सांसद छन् । ९३ सदस्यीय प्रदेश सभामा सभामुख फेर्न चाहिने संख्या दुई दलसँग पर्याप्त छ । विष्ट २०८० पुस २४ गते निर्विरोध निर्वाचित भएका थिए ।

तत्कालीन गठबन्धनमा रहेका नेपाली कांग्रेस र नेकपा माओवादीको सरकार गठनमा बहुमत पुर्‍याउन माओवादीबाट सभामुख बनेका बाबुराम गौतमले भोट हालेका थिए । अदालतले उनको हस्ताक्षरलाई मान्यता नदिएपछि राजीनामा दिन तयार भए । २०८० साउन १६ बाट ५ महिना सभामुख पद रिक्त भयो ।