प्रतिनिधिसभामा एमाले र राप्रपाका सांसदबिच भनाभन
काठमाडौँ । प्रतिनिधिसभा बैठकमा सत्ताको नेतृत्वकर्ता नेकपा एमालेका सांसद सूर्य थापा र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सांसद रोसन कार्कीबिच भनाभन भएको छ । बुधबारको संसद बैठकमा आकस्मिक समयमा सभामुख देवराज घिमिरेले राप्रपा सांसद कार्कीलाई बोल्न समय दिए । उनले उपसभामुख इन्दिरा रानामगरलाई हटाउन कांग्रेस एमालेले सुरु गरेको हस्ताक्षर संकलनबारे कुरा उठाइन् ।
उनले भनिन्– ‘नेपाली कांग्रेस र एमालेले आफ्ना सांसदहरूलाई खाली कागजमा सही गराएका छन्। खाली कागजमा सही गराउने कस्तो पार्टी ? सही गर्ने कस्ता माननीयहरू ? धिक्कार होस् ।’
उनको यो भनाइमा एमाले सांसद थापाले नियमापत्ति जनाए । सांसद थापाले प्रतिनिधिसभा नियमावलीको नियम २१ (घ) अनुसार नियमापत्ति गरेको बताए । र भने, ‘यो आरोपपूर्ण, लाञ्छनापूर्ण, गालीगलौजपूर्ण, अपमानपूर्ण, यो ढङ्गको अभिव्यक्तिलाई त्यो चेयरबाट निषेधित गरिनुपर्छ। माननीय सदस्यज्यूले कस्ता सदस्य, कस्ता कागजमा सही गराएको भन्ने ढंगका जुन लाञ्छनापूर्ण अभिव्यक्ति दिनुभएको छ, यो रेकर्डबाट हटाउनुपर्छ ।’
सभामुख घिमिरेले थापा उठेपछि किन उठ्नुभएको हो ? नियमापत्ति हो भनेर सोधे । सभामुख घिमिरेले सोध्दै गर्दा सांसद कार्कीले भनिन्, ‘उहाँ त्यस्तै हो विपक्षी दलका सांसद बोल्न खोज्दा सधै उठ्नुहुन्छ ।’
थापालाई सभामुखले समय दिएर नियमापत्ति गरिसकेपछि कार्कीले कांग्रेस र एमालेले दुई दलीय शासन लाद्न खोजेको बताइन् ।
उनले भनिन्, ‘एमाले र नेपाली कांग्रेसले यो देशलाई दुई दलीय शासन पद्धतिमा लान आँटिराखेको छ । त्यसकारण म उता पट्टि बस्ने साना दलका माननीयज्यूहरूलाई भन्छु, अहिले नै सचेत हौँ । नभएदेखि उपेन्द्र यादव र अरू पार्टीका माथि जुन प्रकारका आक्रमण भइराखेका छन्, त्यो बाघले तपाईंहरूलाई पनि खान्छ एक दिन । त्यसकारण उता पट्टि बसेर समर्थनहरू गर्नुहुँदैछ तर त्यो बाघले तपाईंहरूलाई खान्छ ।’
प्रतिक्रिया दिनुहोस्: