कांग्रेसका शेखर पक्षले हस्ताक्षर नगरेपछि असफल भयो उपसभामुख हटाउने गठबन्धनको प्रयास
काठमाडौं । उपसभामुख इन्दिरा रानामगरलाई हटाउने सत्तारुढ कांग्रेस–एमालेको प्रयास कांग्रेसको शेखर कोइराला समूहको असहयोगका कारण असफल भएको खुलेको छ । कांग्रेस एमालेले आज बिहान संसदीय दलको आकस्मिक बैठक डाकेर सांसदहरूलाई खाली कागजमा हस्ताक्षर गर्न लगाएका थिए ।
तर कांग्रेसको शेखर कोइराला समूहले खाली कागजमा हस्ताक्षर गराउनुको प्रयोजन माग गरेपछि उपसभामुख हटाउने प्रयास असफल भएको हो । स्रोतका अनुसार कांग्रेस नेता शेखर कोइरालाले आफूनिकट सांसदलाई फोन गरेर प्रयोजन खुलाइए मात्रै हस्ताक्षर गर्न निर्देशन दिएका थिए । त्यसपछि शेखर समूहका सांसदहरूले खाली कागजमा हस्ताक्षर गर्न मानेनन् ।
ती सांसदले भने, ‘डाक्टरसाबले फोन गर्ने सांसदहरूलाई केका लागि हस्ताक्षर गर्न लगाइएको हो प्रयोजन खुलाउन भन्नुभएको छ । प्रयोजन खुले हस्ताक्षर गर्नुस्, नखुले नगर्नुस् भन्नुभएको छ ।’
शेखरले संसदीय दलमा बैठकमा पनि हस्ताक्षर संकलनको प्रयोजन खुलाउन माग गरेका थिए । शेखर समूहका सबै सांसद काठमाडौंमा उपलब्ध छैनन् भने काठमाडौंमा रहेका केही सांसदले खाली कागजमै हस्ताक्षर गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्: