Bagmati Samachar Logo

रास्वपाको केन्द्रीय समिति अद्यावधिक, दीपक बोहोरालाई सहकोषाध्यक्षबाट हटाइयो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पदाधिकारीहरूको हेरफेरलाई निर्वाचन आयोगले अद्यावधिक गरेको छ । आयोगले ६२ जना केन्द्रीय सदस्य रहेको रास्वपाको केन्द्रीय समिति अद्यावधिक गरेको हो ।

अद्यावधिक गरिएको अभिलेख अनुसार महामन्त्रीमा कविन्द्र बुर्लाकोटी तथा प्रवक्तामा मनिष झा रहेका छन् । पदाधिकारीमा सहमहामन्त्री एक जना मात्र छन् । सहमहामन्त्रीबाट राजीनामा दिएकी सुमना श्रेष्ठलाई हाल केन्द्रीय सदस्य मात्र राखिएको छ ।

आयोगले रास्वपाले गत असार ७ मा गरेको निर्णय अनुसार पदाधिकारी हेरफेरको अद्यावधिक गरेको हो ।

यसैगरी सभापति रवि लामिछानेका विश्वासपात्र मानिने दीपक बोहरालाई सहकोषाध्यक्षको जिम्मेवारीबाट हटाइएको छ । बोहरालाई सहकोषाध्यक्षबाट हटाएर केन्द्रीय सदस्यमा सीमित गरिएको छ । उनलाई सहमहामन्त्री बनाउने प्रस्ताव पार्टी बैठकमा नै विरोध भएको थियो ।