बागमतीका मुख्यमन्त्री बानियाँ र लामापक्षबीच सहमति नहुँदा विश्वासको मत अन्यौलमा
काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेशसभाबाट विश्वासको मत लिने तय भएको थियो। उनले विश्वासको मत लिने प्रयोजनका लागि आज दिउँसो ४ बजे प्रदेशसभाको बैठक बोलाइएको छ । तर कांग्रेस भित्रको आन्तरिक किचलोका कारण प्रदेश सभाको बैठक बस्ने नबस्ने अनिश्चित बनेको छ । मुख्यमन्त्री बानियाँ र पूर्वमुख्यमन्त्री बहादुरसिंह लामाबीच भएको सहमति कार्यन्वयन नहुँदा विश्वासको मत नै अनिश्चित बनेको छ ।
बानियाँले कांग्रेस संसदीय दलको नेतामा चयन हुने क्रममा लामाले मन्त्री बनाएर शपथग्रहण गर्न नपाएका तीन जनालाई मन्त्री बनाउने सहमति भएको थियो । तर, मुख्यमन्त्री बानियाँले ती तीन जनालाई मन्त्री नबनाएपछि विवाद उत्पन्न भएको छ । उक्त विवाद मुख्यमन्त्री बानियाँको विश्वासको मतमा प्रभाव पर्ने देखिएको छ ।
लामापक्षले तीन जनालाई मन्त्रीमा नियुक्त नगरेसम्म बानियाँलाई विश्वासको मत नदिने अडान लिएको छ । बानियाँ तीन जनामध्ये एक जनालाई मन्त्री बनाउन तयार भएका छन् ।
लामा पक्षमा १२ जना जति सांसद अहीलेसम्म काठमाडौंमा छलफलमा रहेको बताइएको छ । लामा पक्षकाले आफूसँग भएको सहमति कार्यन्वयन भए विश्वासको मत दिने नभए नदिने तयारी गरेको चर्चा छ ।
प्रतिक्रिया दिनुहोस्: