बागमतीको छैटौँ मुख्यमन्त्री बने बानियाँ, कांग्रेसबाट अरु मन्त्रीको छैन टुङ्गो
हेटौंडा । बागमती प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ नियुक्त भएका छन् । नेपाली कांग्रेसका बानियाँले कांग्रेस र नेकपा एमालेका गरी ६४ जना सांसदको समर्थनसहित दाबी पेस गरेका थिए । प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले बानियाँलाई आज संविधानको धारा १६८(२) अनुसार मुख्यमन्त्री नियुक्त गरेका हुन् । आजै बानीयाँले मुख्यमन्त्रीको पद तथा गोपनीयताको शपथ खाएका छन् ।
कांग्रेस बागमतीका सभापति समेत रहेका मकवानपुरका बानियाँ यसअघि दुईपटक संघीय सरकारमा राज्यमन्त्री भइसकेका छन् । उनी बागमती प्रदेशका छैटौँ मुख्यमन्त्री हुन् ।
को–को बन्दै छन् मन्त्री
बागमती प्रदेशको मुख्यमन्त्रीमा बानियाँ नियुक्त भए पनि कांग्रेसबाट मन्त्री बन्नेहरूको नाम टुंगो लागिसकेको छैन । सत्ता सहयात्री एमालेले भने भागमा परेका ६ मध्ये ५ मन्त्रीको नाम टंगो लगाइसकेको छ । एमालेबाट किरण थापा पुनः स्वास्थ्य मन्त्रीमा दोहारिने भएका छन् भने अरु सबै नयाँ अनुहार हुन् ।
एमालेले मधुसुदन पौडेललाई कृषिमन्त्री, भरत केसीलाई वनमन्त्री, जयराम थापालाई श्रम, रोजगार तथा यातायातमन्त्री, बिन्दु श्रेष्ठलाई उद्योग मन्त्री र डा. दिनेशचन्द्र देवकोटालाई भौतिक पूर्वाधारमन्त्री बनाउँदै छ ।
बागमतीमा कांग्रेसले मुख्यमन्त्रीसहित ७ र एमालेले ६ वटा मन्त्रालय पाएका छन् । कांग्रेसमा भने मन्त्रीका लागि किचलो चलिरहेको छ । कांग्रेसबाट शारदाप्रसाद अधिकारी मन्त्री हुने चाहिँ पक्कापक्की भइसकेको छ । उनलाई आन्तरिक मामिलामन्त्री बनाउने तय भएको छ ।
यसबाहेक अरु मन्त्रीको नाम टुंगो लागिसकेको छैन । बानियाँले निवर्तमान मुख्यमन्त्री बहादुरसिंह लामाले शपथ गराउन नसकेका चार जनालाई मन्त्री बनाउने सहमति भएको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्: