बागमतीका नयाँ मुख्यमन्त्री बानियाँले शपथ लिने , एमालेले मन्त्री टुङ्गो लगाउदा कांग्रेसमा अन्योल
हेटौँडा । बागमती प्रदेशमा इन्द्रबहादुर बानियाँ आज मुख्यमन्त्री नियुक्त हुने र शपथ पनि आजै हुने छ ।
दिउँसो ३ बजे मुख्यमन्त्री नियुक्त हुने र ४ बजे शपथ लिने कार्यतालिका तयार भएको छ । एमाले कांग्रेसको सत्तागठबन्धनमा बहादुरसिं लामाले राजिनामा दिएपछि बानियाँ मुख्यमन्त्री बन्ने बाटो खुलेको हो । लामामन्त्री परिषदमा भएका एमालेका एक जनाबाहेक सबै नयाँ मन्त्रीको नाम टुङ्गो लगाएको छ ।
एमालेबाट लामाको मन्त्रीपरिषदमा ६ जना मन्त्री थिए । बानियाँको मन्त्री परिषदमा पनि ६ मध्ये ५ जना नयाँ मन्त्री पठाउन नाम टुङगो लगाएको एमाले स्रोतले बताए । एमालेले किरण थापालाई भने निरन्तरता दिन लागेको छ । अन्य ५ जना जयराम थापा, विन्दु श्रेष्ठ, भरत केसी, मधुसुदन पौडेल र दिनेशचन्द्र देवकोटालाई मन्त्री बनाउन लागिएको छ । देवकोटा भने यसअघि राष्ट्रिय योजना आयोगका उपाध्यक्षसमेत भइसकेका व्यक्ति हुन् ।
कांग्रेसमा निवर्तमान मुख्यमन्त्री लामाले ४ मन्त्रीले राजीनामा दिएपछि नियुक्त गरेका ३ मन्त्रीको शपथ नगर्दै सरकारबाट राजीनामा दिएका छन् । राजीनामा दिदा आफूले नियुक्ति गरेका तीन मन्त्रीलाई शपथ गराउनु पर्ने सहमति गराएका थिए । तर आज तीन जनाको शपथ नहुने भएको छ । मुख्यमन्त्री र ७ मन्त्रालय भागमा परेको कांग्रेसमा बहादुर सिंह लामाका ३ मन्त्री राख्दा अरू मन्त्रीका आकांक्षी रोकिने भएकाले टुंगोमा पुग्न नसकेको हो ।
आज दिउँसो ४ बजे हुने शपथमा मुख्यमन्त्री बानियाँसँगै कांग्रेसबाट धादिङका शिवराज अधिकारीको शपथ गराउने तयारी भएको स्रोतले बताए ।
प्रतिक्रिया दिनुहोस्: