बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंहले दिए राजीनामा
काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले राजीनामा दिएका छन्।
आइतबार उनले पत्रकार सम्मेलन गरी राजीनामा दिएका हुन्।
उनले पार्टी सभापति शेरबहादुर देउवाको अनुरोधलाई मानेर राजीनामा दिएको बताएका हुन्।
उनले भने, ‘पार्टी सभापति शेरबहादुर देउवाज्यूले र दलभित्र विकसित पछिल्ला घटनालाई मनन गरी आपसी समझदारीमा सरकार सञ्चालन गर्न मार्ग प्रशस्त गर्न आग्रह गर्नुभएकोले पार्टीको एक इमानदार सिपाहीको हैसियतले आज मैले मुख्यमन्त्री पदबाट प्रदेश प्रमुख कार्यालयमा जानेछु ।’
बागमतीमा साउन १४ गते लामालाई पराजीत गरेर ईन्द्रबहादुर बानियाँ कांग्रेस संसदीय दल नेता चयन भएका थिए।
त्यतिबेला बानियाँको पक्षमा २२ सांसदले मतदान गरेका थिए। हालका मुख्यमन्त्री लामाको पक्षमा १४ सांसद खुलेका थिए भने एउटा मत बदर भएको थियो।
बागमतीमा कांग्रेसका ३७ सांसद छन्।
संविधानतः मुख्यमन्त्री बन्नका लागि दल नेता हुनुपर्ने प्रावधान नरहेको दाबी गर्दै लामाले दल नेता पराजित भए पनि मुख्यमन्त्रीबाट राजीनामा नदिने अडान लिएका थिए।
त्यसपछि पार्टी सभापति शेरबहादुर देउवाले मुख्यमन्त्री लामालाई काठमाडौं बोलाएर छलफल गरेका थिए।
भेटमा सभापति देउवाले संसदीय दल नेताको निर्वाचन भइसकेको र दल नेता ईन्द्रबहादुर बानियाँ बनिसकेको अवस्थामा मुख्यमन्त्रीबाट मार्गप्रशस्त गर्नु उपयुक्त हुने सुझाव दिएका थिए।
प्रतिक्रिया दिनुहोस्: