Bagmati Samachar Logo

स्थायी समिति बैठकमा जनार्दनको आलोचना, प्रचण्डको विकल्प छैन

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समितिको बैठकमा उपमहासचिव जनार्दन शर्मा प्रकारको आलोचना भएको छ । केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी स्थायी समिति बैठकको दोस्रो दिन अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गरेको एजेन्डामाथि छलफलका क्रममा आफ्नो धारणा राख्ने अधिकासं सदस्यहरुले प्रभाकरको आलोचना गरेका छन् ।

उपमहासचिव वर्षमान पुनले पार्टीका आन्तरिक विषयहरू बाहिर ल्याएकोमा असन्तुष्टि व्यक्त गरे, र सबैलाई विधि र विधान अनुसार चल्न आग्रह गरे। ‘उनले भनेका छन्, ‘पार्टीभित्र आन्तरिक मतभेद हुन्छन् । व्यक्तिगत स्वार्थ वा समूहगत स्वार्थका लागि अन्तर्विरोध बाहिर लैजानु राम्रो हुँदैन । आफ्ना असन्तुष्टि पार्टीभित्रै राख्नुपर्छ । जागरण अभियानबाट पार्टीप्रति जनमत बढ्दै गइरहेको अवस्थामा नेतृत्वलाई कमजोर बाउने हिसाबले बाहिर कुरा राख्दा त्यसले पार्टी बन्दैन । कमजोर बनाउँछ ।’

उनले पार्टी कमजोर हुनुमा नेतृत्वलाई मात्र दोष देखाएर पानीमाथिको ओभानो बन्न कसैले पनि नहुने धारणा राखे । पार्टी कमजोर हुनुमा सबैले आ–आफ्ना कमीकमजोरी स्विकारेर एकताबद्ध बनाएर लैजानुपर्नेमा जोड दिए ।

बैठकमा बोल्ने अधिकांशले अन्तर्विरोध बाहिर लगेको असन्तुष्टि जनाएको उपमहासचिव हरिबोल गजुरेलले बताए । उनले भने,‘आजको बैठकमा धेरै पार्टी भित्रको अन्र्तविरोध बाहिर लिएको भन्दै असन्तुष्टि राख्नु भयो । जे हो पार्टी भित्र राख्नु पर्ने धारणा राख्नु भयो । पार्टी विधि उलंघन भएकोमा आज बोल्ने कमरेडहरुले असहमति जनाउनु भयो ।’

अर्का उपमहासचिव मातृका यादवले नेतृत्वको करेक्सनको विषयमा आफूले पनि विरोध गरेको भन्दै आजको बैठकमा आत्मालोचना गरेको अर्का सहभागी नेताले बताए ।

ती नेताले भने, ‘मातृकाजीले नेतृत्वको विषयमा पहिले विरोध गरेकोमा आत्मालोचना गर्नुभयो । पार्टी नीति र नेतृत्व फरक ढङ्गले जानुपर्छ, रूपान्तरण हुनुपर्छ भनेर आलोचना गर्दै आएको हो । पार्टीको आन्तरिक विषय प्रभाकरजीले जसरी बाहिर लैजानु भयो त्यो ठिक भएन । यसमा सबैले समीक्षा गर्नुपर्छ भन्नुभयो ।’

सचिव राम कार्कीले भने फरक प्रस्ताव राखेका छन् । पार्टीभित्र नेतृत्व परिवर्तन र जनवादको अभ्यासका लागि रोटेसन प्रणालीबाट ९–९ महिनामा नेतृत्व परिवर्तन गर्नु पर्ने धारणा राखेका छन् ।

उनले पार्टीभित्र जनवाद कमजोर हुँदै गएको र केन्द्रीयता हाबी भएकाले पार्टी निर्माणमा समस्या आएको मत समेत राखेको एक स्थायी समिति सदस्यले बताए ।

नेताले कार्कीको भनाइ भन्दै भने, ‘अब नयाँ ढङ्गले नेतृत्वको खोजी गर्नुपर्छ । पार्टी रूपान्तरणका लागि ९–९ महिनामा नेतृत्व फेर्ने गरी रोटेसन बनाऔँ । शान्ति प्रक्रियामा आएपछि हामी कहाँ चुक्यौँ ? पार्टी किन निरन्तर ओरालो लागिरहेको छ । पार्टीमा जनवाद कमजोर हुँदै गइरहेको छ । केन्द्रीयता मात्र हाबी छ । निरंकुश शैलीबाट कसरी पार्टी चल्छ ? यसमा समीक्षा गर्नुपर्छ कि पर्दैन ?’

यस्तै सविच देवेन्द्र पौडेलले अहिलेको स्थितिमा प्रचण्डको विकल्प नभएको भन्दै उनकै नेतृत्वमा पार्टीलाई एकताबद्ध बनाएर लैजानुपर्नेमा जोड दिए ।

बैठकमा अध्यक्ष प्रचण्डको प्रस्तावमाथि २५ जनाले धारणा राखेको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।
पुष्पलाल स्मृति दिवसको असरमा शर्माले प्रचण्डको आलोचना गरेका थिए । सार्वजनिक रुपमा आलोचना गरेपछि शर्माको त्यहि दिनबाट आलोचना हुन थालेको छ ।