Bagmati Samachar Logo

प्रचण्डले जनार्दनलाई भने– सक्नुहुन्छ बहुमत पुगाएर नेतृत्व फेर्नुस्, होइन भने शान्त बस्नुहोस्

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीभित्रको अन्तर्विरोधलाई बाहिर लगेर दूनियाँलाई रमिता देखाउने काम भएको बताएका छन् । शुक्रबार केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकलाई सम्बोधन गर्दै प्रचण्डले यदि माओवादी पार्टीमा विधि र विधान कार्यान्वयन गर्ने हो भने जनवादी केन्द्रीयता लागू गर्नुपर्ने बताए । उपमहासचिव जनार्दन शर्माले पार्टीको विधान र विधिको पालना नगरेको भन्दै आक्रोश पोखेका छन् ।

प्रचण्डले नेतृत्वलाई खुइल्याए पाार्टीमा आकर्षण कसरी हुन्छ भन्दै बैठकमा प्रश्न गरेका थिए । केही दिनअघि उपमहासचिव शर्माले मनमोहन अधिकारीबाहेक नेपालका सबै कम्युनिस्ट प्रधानमन्त्री भ्रष्ट रहेको बताएका थिए । बैठकमा सहभागी एक स्थायी कमिटी सदस्यका अनुसार प्रचयडले नेतृत्वलाई खुइल्याउँदै जाने हो भने बाहिरबाट कोही पनि पार्टीमा नआउने बताए । उनले भनेका थिए, नेतृत्वलाई खुइल्याएपछि को आउँछ ? नेतृत्वलाई नंग्याउने, खुइल्याउने कुरा ठीक होइन, यसले राम्रो गर्दैन । अरुलाई खेल्ने ठाउँ नदिऔँ, होइन भने नेतृत्व बदल्नुपर्‍यो । यही नेतृत्व मान्ने हो भने नेतृत्व सक्ने, खुइल्याउने र विरोधीलाई रमिता देखाउने काम राम्रो होइन ।’

प्रचण्डले बैठकमा विधिका कुरा गर्नेहरूले बोलीमा लगाम लगाउनुपर्ने बताएका थिए । प्रचण्डको भनाइ भन्दै एक पदाधिकारीले भने, ‘पार्टीभित्रका कुराहरू बाहिर बोल्ने कुराले राम्रो गरेको छैन । पार्टीमा विधि पालना गर्ने हो भने बोली व्यवहार पनि विधि विधानमा राखौँ । पार्टीभित्रको एकतालाई सुदृढ गरौँ । पार्टीभित्रका कुरा बाहिर जानु गलत हो । विधिमा चलौँ । मुखमा जे आयो त्यही बोल्दै नेतृत्वलाई खुइल्याउने काम बन्द गरौँ ।’

प्रचण्डले पार्टीका गतिविधिबारे बाहिर सार्वजनिक मञ्चमा भन्दा पनि पार्टीभित्रै कुरा राख्न पनि सुझाव दिए । बैठकमा प्रचण्डले भनेका कुरा भन्दै स्थायी कमिटी सदस्यले थपे, ‘साथीहरूले नै विधि र विधानका कुरा धेरै गर्नुहुन्छ । तर, जे पायो त्यही सार्वजनिक ठाउँमा बोल्नुहुन्छ । बैठकमा बोल्ने हो, जे बोल्न मन छ भित्रै भन्ने हो । दुनियाँलाई खेल्ने ठाउँ नदिऔँ । अरुले पनि उचाल्छन् । हाम्रो हात लाग्यो शून्य हुन्छ ।’

बैठकमा प्रचण्डले केन्द्रीय समितिको बैठक दसैँतिहारको बीचमा बोलाउने प्रस्ताव पनि गरेका छन् ।

यसैबीच, माओवादी केन्द्रले हाल स्थगित मध्यपहाडी लोकमार्गकेन्द्रित अभियान १५ भदौबाट सुरु गर्ने भएको छ । पार्टीमा नयाँ आएकाहरूको कार्यविभाजन यही स्थायी कमिटी बैठकले गर्ने तयारी गरेको उपाध्यक्ष हरिबोल गजुरेलले बताए ।