Bagmati Samachar Logo

क्रान्तिकारीमा अध्यक्षले बैठक बोलाउन नमानेपछि दुई तिहाइ पदाधिकारीद्वारा बैठक माग

काठमाडौं । अखिल (क्रान्तिकारी) को २३ औं राष्ट्रिय सम्मेलनबाट निर्वाचित दुई तिहाइ पदाधिकारीले संगठनको केन्द्रीय पदाकारी बैठक तत्काल बोलाउन लिखित रुपमा माग गरेका छन् । क्रान्तिकारीका ३३ मध्ये २४ पदाधिकारीले बैठक माग गदै हस्ताक्षर गरेका छन् । अरु थप ४–५ जना पदाधिकारी बैठक बोलाउनु पर्ने कुरामा सहमत भएपनि हस्ताक्षर भने गरेका छैनन ।

संगठनको २३ औं राष्ट्रिय सम्मेलनपछि निर्वाचित केन्द्रीय समितिको पहिलो बैठक गत २०८१ माघ २६ गते काठमाडौँमा सम्पन्न भई विभिन्न महत्वपूर्ण निर्णयहरू गरिएका थिए। तर, ती निर्णयहरूको कार्यान्वयनका क्रममा विभिन्न समस्या र जटिल परिस्थितिहरू उत्पन्न भएका कारण पदाधिकारीहरूले पटक पटक मौखिक रुपमा बैठक बोलाउन माग गर्दा बेवास्ता गरेकाले बाध्य भएर पदाधिकारीले लिखित रुपमा विधानको भाग ६, धारा ३० को उपधारा ५ बमोजिम अबको एक हप्ताभित्र बैठक बोलाउन माग गरेका छन् ।

अध्यक्षलाई सम्बोधन गरेर लेखेको पत्रमा भनिएको छ , ‘बैठकमा विशेष गरी स्ववियु निर्वाचनको समीक्षा, विद्यालय शिक्षा ऐनमाथिको छलफल, बाँकी रहेका प्रदेश सम्मेलनहरूको तयारी, तीन महिने अभियानको समिक्षा, सुदूरपश्चिम विश्वविद्यालयमा उपमहासचिवमाथि भएको भौतिक आक्रमण, साथै त्रिभुवन विश्वविद्यालयमा जारी आन्दोलन र वर्तमान शैक्षिक–राजनीतिक अवस्था मुख्य एजेन्डा रहने छन् ।’

यो माग सार्वजनिक भएपछि संगठन भित्रको आन्तरिक गतिविधि र आगामी रणनीतिबारे चासो बढेको छ।