Bagmati Samachar Logo

बागमती प्रदेश प्रमुख काठमाडौँ हिडे पछि नयाँ मन्त्रीहरूको शपथ स्थगित, राजनीतिक उथलपुथल कायमै

हेटौंडा । बागमती प्रदेश सरकारका नवनियुक्त तीन मन्त्रीको शपथग्रहण समारोह अनिश्चितकालका लागि स्थगित गरिएको छ । आज दिउँसो १ बजेका लागि तय गरिएको शपथग्रहण कार्यक्रम प्रदेश प्रमुखको आकस्मिक स्वास्थ्य समस्याका कारण स्थगन गरिएको हो।

प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाको स्वास्थ्यमा समस्या देखिएपछि उनी आज बिहानै काठमाडौँ प्रस्थान गरेका छन्। प्रदेश प्रमुखको कार्यालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘माननीय प्रदेश प्रमुखज्यूको निर्देशानुसार अर्को सूचना प्रकाशन नभएसम्मका लागि शपथग्रहण कार्यक्रम हाललाई स्थगन गरिएको जानकारी गराइन्छ ।’

मुख्यमन्त्री बहादुरसिंह लामाले बुधबार मात्रै आन्तरिक मामिला तथा कानुन मन्त्रीमा गोविन्द लम्साल, सहकारी तथा गरिबी निवारण मन्त्रीमा गीता गुरुङ, र युवा तथा खेलकुद मन्त्रीमा माया श्रेष्ठलाई नियुक्त गरेका थिए । बुधबारै शपथ गराउने तयारी भए पनि सत्ता साझेदार नेकपा एमालेका नेता जगन्नाथ थपलियाको आग्रहमा कार्यक्रम रोकिन पुगेको थियो । त्यसपछि आजको कार्यक्रम तय गरिएको थियो ।
शपथ रोकिएसँगै बागमतीको राजनीति फेरि अन्योलमा परेको छ ।

काँग्रेस संसदीय दलको नेताबाट बहादुरसिंह लामालाई हटाउन आफ्नै पार्टीका पाँच मन्त्रीले राजीनामा दिएपछि लामाले तीन नयाँ मन्त्री नियुक्त गरेका थिए । तर काँग्रेस संसदीय दलको बुधबार सम्पन्न चुनावमा इन्द्रबहादुर बानियाँले बहुमत ल्याएर दलको नेतामा निर्वाचित भएसँगै मुख्यमन्त्री लामा थप दवाबमा छन्।

यद्यपि, मुख्यमन्त्री लामाले हालसम्म पदबाट राजीनामा दिने संकेत दिएका छैनन्। यस्तो परिस्थितिमा शपथ स्थगन हुनु राजनीतिक चलखेलसँग जोडिएर हेरिएको छ ।

सत्तारूढ गठबन्धनभित्रको बढ्दो द्वन्द्व र असहमति प्रदेश सरकारको स्थायित्वप्रति नै प्रश्न उठाउने स्थितिमा पुगेको छ। आगामी दिनमा बागमतीको सत्ता समीकरण कुन दिशातर्फ जानेछ भन्नेमा चाँसो बढेको छ।