पूर्व राष्ट्रपतिको विवाद बैठकले सल्टाएकोले अब कहि कतै छलफल नगर्नु : एमाले (अपानी पूर्णपाठ)
काठमाडौं । नेकपा (एमाले) ले पूर्व राष्ट्रपतिका नाममा पार्टी एकतालाई कमजोर बनाउने गरी सुरु भएको बहस र विवादलाई केन्द्रीय कमिटीको बैठकले उपयुक्त निर्णय गरी समाधान गरेको बताएको छ । अब उक्त विषयमा थप छलफल र बहस गरेर पूर्व राष्ट्रपतिको गौरव, प्रतिष्ठा र सम्मानमा आँच आउने काम कसैले पनि गर्नु नहुने बताएका छ ।
यही साउन ५ र ६ गते सम्पन्न पार्टीको केन्द्रीय कमिटीको नवौं बैठकपछि आइतबार (साउन १२ गते) अन्तरपार्टी निर्देशन–१२ जारी गरेको छ ।
एमालेले आफू विरुद्ध अहिले चार किसमका शक्ति लागेको पनि अपानीमा उल्लेख गरेको छ । उसले राष्ट्र विरोधी शक्ति, राजतन्त्रवादी शक्ति, माओवादी र नयाँ शक्तिको नाममा उदाएका नयाँ पार्टीलाई आफू विरुद्ध लागेको अपानीमा उल्लेख गरेको छ ।
माओवादीलाई ३२ सिटको म्याजिक नम्बर भएको पार्टीको सत्ता खोसिएकाले आफू विरुद्ध लागेको आरोप लगाएको छ । उसले अपानीमा भनेको छ, ‘नेकपा (एमाले नेपालको वामपन्थी आन्दोलनको मुख्य
शक्ति बनेको र हाम्रा कारणले उनीहरूको सत्ता राजनीतिको ‘म्याजिक नम्बर’ औचित्यहीन बनेको र भूमिका खोसिएको ठानेर विछिप्त छन् । उनीहरू हाम्रा विरुद्धमा अराजनीतिक र अपराधिक तरिकाबाट छद्मरूपमा हमला गरिरहेका छन् ।’
नयाँ दलहरुलाई अराजकतावादीको आरोप लगाएको छ । भनिएको छ , ‘नयाँ वैकल्पिक शक्ति निर्माणको आकांक्षा बोकेका शक्तिहरू । उनीहरू लोकप्रियतावाद र अराजकतावादको सहारा लिएर अघि बढ्न खोजिरहेका छन् । उनीहरू आफ्नो उद्देश्य पुरा गर्नका लागि नेकपा (एमालेले बाधा पु¥याउने ठानेर हाम्रा विरुद्धको कूप्रचारमा केन्द्रित छन् ।’
गत स्थानीय तहमा पार्टीले जितेका ७ मध्ये एउटा वडामा मात्रै उपचुनाव जितेको अवस्थाबाट शिक्षा लिनुपर्ने बताएको छ।
‘स्थानीय तहमा हामीले चुनाव जितेका ७ वडामा पुनः चुनाव भएकोमा एउटामा मात्र पुनः चुनाव जितेको अवस्थाबाट शिक्षा लिनुपर्ने देखिन्छ। परिणाम पहिलेको भन्दा राम्रो भए पनि पहिले जितेका धेरै ठाउँ गुम्नु राम्रो संकेत होइन। यसप्रति सचेत हुँदै जनप्रतिनिधिमुलक निकायको काममा विशेष ध्यान दिनुपर्ने भएको छ’ अपानीमा भनिएको छ, ‘यस सन्दर्भमा पार्टी केन्द्रीय कार्यालय र स्थानीय विकास विभागको तर्फबाट प्रयास हुँदै आएको छ। निर्वाचन विभागले पनि निर्वाचनको तयारीको कामलाई योजनाबद्ध बनाउने प्रयास गरिरहेको छ।’
३० पेज लामो अपानीमा पहिले जितेका अधिकांश वडामा जित्न नसक्नु कमजोरी भएको भन्दै यसप्रति सचेत हुँदै जनप्रतिनिधिमुलक निकायको काममा विशेष ध्यान दिन निर्देशन दिएको छ।
एमालेले अब हुने उपनिर्वाचनमा सचेत बन्न पनि पार्टी पंक्तिलाई निर्देशन दिएको छ। रूपन्देही ३ प्रतिनिधिसभाको निर्वाचनको मिति घोषणा भएको, मनाङमा सर्वोच्च अदालतको पूर्ण फैसला आएपछि प्रदेशसभाको निर्वाचन हुने सम्भावना रहेको र रिक्त रहेका वडामा पनि यसै वर्ष पुनः चुनाव हुने सम्भावना रहेकोमा त्यसको तयारीमा योजनाबद्ध रूपमा जुट्न अपानीमार्फत भनिएको छ।
प्रतिक्रिया दिनुहोस्: