Bagmati Samachar Logo

प्रश्न गर्नेहरूलाई पार्टी विभाजनको आरोप लगाउने प्रवृत्तिको प्रतिवाद गरौँ : सुदन किराती

काठमाडौं । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य सुदन किरातीले प्रश्न गर्नेहरुलाई पार्टी विभाजनको आरोप लगाउने प्रवृतिको प्रतिवाद गर्नु पर्ने बताएका छन् । आइतबार बिहानै सामाजिक सञ्जाल फेसुबकमा किरातीले पार्टीमा प्रश्न गर्न पाउनु पर्ने तर पदको लागि चाकरी चाप्लुसी गर्नु गलत भएको बताएका छन् ।

माओवादी कन्द्रमा पछिल्लो एक वर्षदेखि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उपमहासचिव जनार्दन शर्माबीच पछिल्लो आरोप प्रत्यारोप चल्दै आएको छ । त्यहि बीच शर्मानिकटका किरातीले पार्टीको विधि र विधानको कुरा उठाएका छन् ।

पूर्वमन्त्रीसमेत रहेका किरातीले आज बिहान स्टाटस लेख्दै केन्द्रीय समितिको निर्णय कार्यान्वयनका लागि ४ सर्त दृढतापूर्वक लागू गर्न आव्हान गरेका छन् ।
उनले लेखेका छन् , ‘पार्टी बलियो बनाउन शुद्धीकरण, सुदृढीकरण र रूपान्तरणको अभियानलाई तीव्र बनाऊँ । शहीदको सपना पूरा गर्न कुनै पनि स्वरूपको लोभ तथा लालच त्याग्न तयार हौँ ।’

गत वर्ष जेठ कास्की पोखराको प्रशिक्षणमा प्रचण्डले नामै नलिएर शर्माले पार्टी विभाजन गर्न लगाएको आरोप लगाएका थिए । तर साउन २६ गतेबाट बसेको स्थायी समिति बैठक पछि भदौमा जारी गरेको सर्कुलरमा आफैले पार्टी विभाजन गर्ने कुरा कहि कतै नभएको स्पष्टिकरण दिएका थिए । किरातीले लेखेका छन, ‘प्रश्न गर्नेहरूलाई पार्टी विभाजनको आरोप लगाउने प्रवृत्तिविरुद्ध सशक्त वैचारिक प्रतिवाद गरौँ । नेतृत्वको विचार र योगदानलाई जुग(जुगसम्म बचाई राख्न चाकडी र चाप्लुसी गर्ने प्रवृत्तिलाई निषेध गरौँ ।’

मंगलबार काठमाडौम भएका एक कार्यक्रममा उपमहासचिव शर्माले पार्टीमा निरंकूशता र व्यक्तिवादी हाबी भएको आरोप लगाएका थिए । माओवादीलाई नयाँ पुस्ताले नेतृत्व गर्ने वातावरण बनाउन लागेको भन्दै पार्टी पुनर्गठनको विकल्प नभएको उनको भनाइ थियो ।

त्यसको भोलिपल्टै प्रचण्डले प्रशस्त सिँगौरी खेल्न ठाउँ दिएको भन्दै आफ्नो उदारतालाई कमजोरी नठान्न चेतावनी दिएका थिए ।
शनिबार प्रचण्डले माओवादीमा कुनै विवाद नभएको प्रसष्टिकरण दिएका छन् । तर माओवादी भित्र प्रचण्ड र शर्मा समुहबीच विवाद जारी रहेको माओवादी नेताहरु बताउछन् ।