Bagmati Samachar Logo

बागमतीका चार मन्त्रीले दिए राजीनामा

हेटौँडा । बागमती प्रदेश सरकारका चार मन्त्रीले राजीनामा दिएका छन् । शुक्रबार राजीनामा दिने चारै जना मन्त्रीहरु कांग्रेसका हुन् ।

बागमती सरकारको नेतृत्व कांग्रेसले गरेको छ । मुख्यमन्त्री बहादुरसिं लामा छन् । मुख्यमन्त्रीसहित कांग्रेसबाट सरकारमा ८ जना मन्त्री थिए । तर चार जनाले आज राजीनामा दिएका छन् ।

राजीनामा दिनेमा संस्कृति तथा पर्यटनमन्त्री विमल ठकुरी, सहकारी तथा गरिबी निवारण मन्त्री मदुकुमार श्रेष्ठ, युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जन र आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछाने छन् ।

कांग्रेस संसदीय दलका नेतासमेत रहेका मुख्यमन्त्री बहादुरसिंह लामालाई हटाउने पहल सुरु भएको छ ।

संसदीय दलको नेताबाट लामालाई हटाएर नयाँ मुख्यमन्त्री नियुक्त गर्ने प्रक्रियाका लागि कांग्रेस सांसदहरूले प्रक्रिया अघि बढाएका छन् । यसका लागि ३७ सांसद रहेको कांग्रेस संसदीय दलमा संसदीय दलको नेता फेर्ने पक्षमा २१ जनाले हस्ताक्षर गरेका छन् ।