मदन भण्डारीले दिएको सदस्यता हो, मुठ्ठीभरले फाल्न सक्दैन : विद्या भण्डारी
काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले मदन भण्डारीले दिएको पार्टी सदस्यता मुठ्ठी भरले चाहदैमा फाल्न नसक्ने बताएकी छन् । आफूले मदन भण्डारीको हातबाट सदस्यता लिएको अहिले ४५ वर्ष भएको बताइन् । उनले पत्रकार सम्मेलनमा भनिन्, ‘अहिले पार्टी सदस्यको कुरा हो। पार्टी सदस्य भएकै ४५ वर्ष भइसक्यो। सदस्यता हुँदा मदनभण्डारी कोसी–सगरमाथा इन्चार्ज हुँदा लिएको हुँ। कसैलाई लाग्यो भन्दैमा मेरो सदस्यता फाल्न सक्दैन । मुठ्ठीभरले चाहदैमा मेरो सदस्यता फाल्न सक्दैनन् ।’
कार्यकर्तालाई अझै एकता र सुदृढ गराउँदै पार्टी निर्माणमा लाग्न पनि आग्रह गरेकी छन्।
पार्टी केन्द्रीय कमिटी बैठकले सदस्यता नवीकरण नगर्ने निर्णय गरेसँगै रुष्ट भएकी उनले आफूलाई राजनीति गर्न संविधान र कानुन बाधक नभएको बताइन्। पार्टीका निर्णय कार्यकर्ता, सामाजिक सञ्जाल र सञ्चारमाध्यमबाट थाहा पाएको बताइन्। भण्डारीले नेकपा एमालेको आफ्नो सदस्यता कसैले चाहेर फाल्न नसक्ने भन्दै आक्रोश व्यक्त गरिन्।
उनले पार्टी सदस्यता लिएको ३५ वर्ष हुँदा राष्ट्रपतिको शपथ लिएको र अहिले सदस्यता लिएको ४५ वर्ष भएको बताइन् ।
राष्ट्रपतिको कार्यकालपछि आफूले बाँकी जीवन मातृ पार्टी एमालेबाटै अघि बढाउने निष्कर्ष निकालेको र काम अघि बढाउन लागेको तर पदको कुनै लोभलाभ नभएको बताइन् ।
उनले भनिन्, ‘पार्टीको आफ्नो प्रक्रिया हुन्छ। हाम्रो पार्टी प्रणालीमा चल्छ। कसलाई कतिखेर के मनलाग्छ त्यो निर्णय गर्ने कुरा होइन । ३५ वर्ष सदस्यता रहेपछि राष्ट्रपतिको शपथ खाएको हुँ। पार्टीले निर्णय गरेर पठाएको हो। अहिले आएपछि विधिपूर्वक नै पार्टीमा आवद्ध भएको छु भनेर भन्छु। समृद्ध नेपाल सुखी नेपाली जनताको बहुदलीय जनवादको आधारमा भनिएको हो। पार्टीको आन्तरिक कुराहरू हुन्छन्। त्यहाँ कुरा होला।’
प्रतिक्रिया दिनुहोस्: