Bagmati Samachar Logo

कम्युनिस्ट आन्दोलन चौबाटोमा अलमलिइरहेको बटुवा जस्तो भएको छ : जनार्दन शर्मा

काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले पुँजीवादी क्रान्तिको चरण पार गरिसकेपछि नेपाली कम्युनिस्ट आन्दोलन चौबाटोमा अलमलिएको बताएका छन् ।

नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ४७ औँ जन्मजयन्तीको अवसरमा मंगलबार काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै शर्माले कम्युनिस्ट आन्दोलन चौबाटोमा अलमलिएको अवस्थामा रहेको बताए ।

चौबाटोमा अलमलिएको कम्युनिस्ट आन्दोलनबाट कसरी मुक्ति मिल्छ ? त्यसको उत्तर दिने बेला आएको उनको भनाइ छ । ‘पुँजीवादी क्रान्तिले एउटा चारण पार गरिसकेपछि चौबाटोमा हराएको बटुवा जस्तो यता जाऊँ कि उता जाऊँ भनेर अलमलिइरहेको कम्युनिस्ट आन्दोलनको एउटा सदस्यको नाताले मैले आफैमाथि प्रश्न गरिराखेको छु’, उनले भने, ‘यो भौतारिँदै गरेको अवस्थाबाट कसरी मुक्ति मिल्न सक्छ ? कुन दिशा अँगाल्ने भनेर प्रश्न अहिले हाम्रो अगाडि आएको छ ।’

सहिदहरूले गरेको बलिदानी, घाइतेले गरेको त्याग, उत्पीडित वर्ग समुदायले हामी प्रति गरेको विश्वास आफैलाई निहालेर हेर्दा हामीले कति घोकाएका कति आफै जानेका आश्वासन बाँड्दै आन्दोलनलाई अगाडि बढाइरहेका क्षणलाई सम्झँदै यति बेला म आफै आन्दोलनको कठघरामा उभिएको बताए ।

शर्माले वर्तमान नेतृत्वका सहयात्री योद्धाहरू पनि भएकाले उत्तर नदिँदा नेपाली जनताको आशा र विश्वास कम्युनिस्ट आन्दोलनप्रति हराउँदै जाने खतरा रहेको बताए ।