केपी ओलीलाई आफूबाहेक अरु केटाकेटी हुन् भन्ने लाग्छ : विद्या भण्डारी
काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूबाहेक अरुले पार्टी चलाउन सक्दैनन् भन्ने लागेको बताएकी छन् । मंगलबार दिउँसो भंगालस्थित आफ्नै निवासमा पत्रकाहरूसँग कुरा गर्दै उनले आफू सबै कुरा जान्ने बुझ्ने अरु सबै केटाकेटी सम्झ्ने गरेको बताइन् ।
ओलीले पार्टीको विधानले व्यवस्था गरेको दुई कार्यकाल र ७० वर्षे उमेर हदबारे नेतृत्वमा पुगेपछि तोडेको र अरुले पार्टी चलाउन सक्दैनन् भन्ने भ्रममा रहेको बताइन् । उनले भनिन्, ‘पार्टीभित्र आफूबाहेक अरु कोही जान्ने सुन्नै छैन भन्ने भ्रम उहाँलाई परेको छ ।’
उनले आफू पार्टीमा फर्किने र सक्रिय रूपमा राजनीतिमा आउने बारे पटक–पटक अध्यक्ष ओलीसँग कुरा गरेको तर अहिले आएर उहाँले दिएका प्रतिक्रियाप्रति अचम्म लागेको बताइन् ।
उनले भनिन्, ‘त्यो बेला उहाँले हुन्न भन्नु भएन । नकारात्मक कुरा गर्नु भएन । ठीकै छ भन्नुभएको हो ।’
उनले भेटमा पार्टीको भावी नेतृत्वका बारेमा समेत कुरा हुने गरेको सुनाइन् । भण्डारीले आफू चीन भ्रमणमा जाँदा र आएपछि पनि बालुवाटार गएर अध्यक्ष ओलीसँग हार्दिक रूपमा संवाद गरेको बताइन् ।
यसका साथै उनले राष्ट्रपतिको कार्यकाल सकिएको ३ महिनाभित्रै पार्टी सदस्यता नवीकरण गरेको र यसबारे अध्यक्ष ओली जानकार रहेको बताइन् । उनले कोशी भ्रमण सकेर फर्किएपछि ओलीले पटक–पटक भेट्न आउँछु भन्दा पछि भेटौँला भन्दै आफूले प्रधानमन्त्रीलाई निवासमा बोलाएर सुरक्षाको तहमा अप्ठ्यारो नपारौँ भनेको बताइन् ।
उनले च्यासल भेटबारे पनि खुलस्त बताउँदै आफूलाई बालुवाटारमै भेटौँ भन्ने कुरा अस्वीकार गरी च्यासलस्थित पार्टी कार्यालयमै भेट्ने निर्णय गरेको बताइन् । उक्त दिन आफूले २ बजे नै हिँड्न तयारी गरे पनि अर्को दिन भेट सार्ने प्रस्ताव आएको समेत भण्डारीले खुलाइन् ।
राष्ट्रपति हुन इन्कार गरेको त्यो क्षण
भण्डारीले आफू राष्ट्रपति बन्नसमेत अनिच्छुक हुँदाहुँदै पार्टीको निर्णयको सम्मान गर्दै त्यहाँ इमानदारीपूर्वक भूमिका निभाएको बताइन् । ‘पार्टी नेतृत्वका लागि नेता ईश्वर पोखरेलको समेत नाम आइरहेको बखत मेरो पनि नेतृत्वका लागि तयारी अवस्था रहँदै गर्दा प्रतिस्पर्धी ठानेर नेताहरूले मलाई आँखाको कसिंगर बनाएका थिए,’ उनले भनिन् ‘तर, पछि केपी अध्यक्ष बन्नुभयो ।’
उनले पार्टीको सक्रिय राजनीतिबाट एकैछिन विश्राम लिएर पार्टीले दिएको विशेष जिम्मेवारीमा मात्रै गएको कुरालाई पार्टी छाडेको भनेर नेताहरूबाटै फैलाएको कुरा हल्ला भएको बताइन् । उनको त्यतिबेला आफ्ना दुई छोरीहरूले समेत राष्ट्रपति बन्न नजान आग्रह गरेको खुलाइन् । तर, पार्टी निर्णय मानेरै राष्ट्रपति बनेको उनले बताइन् ।
उनले भनिन, ‘एउटा शक्तिशाली कम्युनिस्ट पार्टीको महिला अध्यक्ष भएर इतिहास बनाउने मौका थियो नि त्यो । तर, मैले पार्टीको आवश्यकता र नेताहरूको सहजतालाई बुझ्नुपर्थ्यो । मैले त्यही हिसाबले निर्णय लिएकी हुँ ।’
सदस्यता नवीकरण पेन्डिङमा भनेको प्रति आक्रोस
साउन ३ गते बसेको पोलिटब्युरो बैठकको निर्णय भन्दै प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले भण्डारीको पार्टी सदस्यता नवीकरण पेन्डिङमा रहेको सुनाएका थिए । भण्डारीले उक्त प्रसंग मिडियामा आएपछि तत्काल ओलीलाई फोन गरेर सोधेको बताइन् । उनले भनिन्, ‘मेरो सदस्यता नवीकरण पेन्डिङमा भन्या के हो ?’ त्यो समयमा ओलीले राजनीतिक कारणले निर्णय गर्नुपर्ने आवश्यकता रहेको तर्क गरेको भन्दै आफूलाई भनेको भन्दै जानकारी दिइन् ।
मदनको ७५औँ जन्मजयन्ती मनाउने सन्दर्भमा ओलीको असहयोग
जबजका प्रवर्तक जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्ती समारोह भव्य रूपमा मनाउन आफूले उपाध्यक्षमध्ये एकको संयोजकत्वमा मूल समारोह समिति बनाउन चाहे पनि ओलीले असहयोग गरेको भण्डारीले बताइन् । उनले सबै नेता कार्यकर्ताहरू पार्टीको काममा व्यस्त रहेको भनिरहँदा आफूले अलिक फुर्सदिलो को छ भनेर खोज्दा डोरमणि पोडेलको नाम आएको बताइन् । उनले यो समिति बनाउने सवालमा पनि ओलीलाई सोधेरै काम गरेको बताइन् । तर, नेताहरू राख्ने सवालमा भने सबै व्यस्त छन् भन्नुले ओली भित्रदेखि जन्मजयन्ती सामारोहका लागि तयार नभएको बुझिन्छ । यसमा पनि भण्डारी–ओली मत नमिलेको प्रस्ट हुन्छ ।
पैसा र पद बाँडेर पार्टी चल्दैन
भण्डारीले कतिञ्जेल पैसा र पद बाँडेर पार्टी चल्छ भन्दै प्रश्न गरेकी छिन् । जबजको मर्म र भावनाअनुसार पार्टी नचलेको बताउँदै वडादेखि प्रदेश, केन्द्र र मन्त्री एवं राजदूतसम्म पुग्नेले जबजको भावनाअनुसार काम गर्नुपर्ने धारणा राखिन् । उनले विचारलाई बलियो बनाउनुपर्नेमा त्यसो हुन नसकेको गुनासो गरिन् ।
‘सफ्ट पावर भनेकै विचार हो । कुनै हुरी, बतास उडेर आउँदा पनि उभिने भनेको विचारले हो,’ भण्डारीले भनिन्, ‘विचार भनेको त बन्दुकको नालले पनि ढल्दैन । हामीले कार्यकर्तालाई विचारले सुसञ्जित गर्दै जानुपर्छ ।’
पदाधिकारीमा नेता ७० आसपास, कार्यकर्तामा त्रास
विधानले गरेको व्यवस्थालाई संशोधन गरेको बारेमा भण्डारीले सबै नेताहरू ७० वर्षे उमेरनजिक पुगेकाले उनीहरू चुप लागेको बताइन् । उनले नेताहरू ईश्वर पोखरेल र युवराज ज्ञवालीबाहेक अन्य नेताहरूले दुईवर्षे कार्यकाल र ७० वर्षे उमेरहदको विपक्षमा बोल्नुपरेका कारण यही बाध्यता रहेको औँल्याइन् ।
भण्डारीले ओलीले गुटबन्दी गरेर नेताहरूलाई स्वतन्त्र विचार राख्न नदिएको बताइन् । केन्द्रीय कमिटी बैठकअघि देशभरबाट भेला भएका नेताहरूलाई प्रदेशगत रूपमा विभिन्न स्थानमा बोलाएर गुटजस्तो भेला गरी आफूअनुकूल कुराहरू मात्र बोल्न लगाउनु पार्टीले गुट गरेको अर्थको रूपमा हेरिन् ।
‘यो विभिन्न कर्नरबाट भन्दा एक किसिमको तानाशाह हो,’ उनले भनिन् ।
सेतो हात्ती भनेकोमा आपत्ति
भण्डारीले आफूलाई गणतन्त्रको सेतो हात्ती भनेकोमा दुःख लागेको बताइन् । आफूले राज्यबाट त्यत्रो अथाह स्रोत साधनको दुरुपयोग नगरेको उनको भनाइ थियो । उनले आफूले घरभाडाका लागि २ लाख लिने अधिकार भए पनि नलिएको बताइन् । अहिले आफू बसेको घर छोरीको नाममा भएको हुँदा पैसा नलिएको बताइन् । ५० हजार बिजुली पानी, पत्रपत्रिका, इन्टरनेटका लागि लिएको र ३ जना स्टाफ लिएकोमा त्यो पनि नलिने भनेर फिर्ताका लागि पत्राचार गरिसकेको जानकारी उनले दिइन् ।
उनले आफू शीतलनिवासबाट छोरीको घर पुगेकै दिन कुनै एक परियोजनाको ल्यान्डक्रुजर गाडी सरकारले पठाइदिए पनि म डिजेल जलाउन चाहन्नँ भनेर फिर्ता गरिदिएको, बरु ईभी गाडी मागेको भए पनि उक्त गाडी आजसम्म नदिएको बताइन् ।
‘माझ किराँतकी छोरी हुँ, खुट्टा कमाउँदिनँ’
भण्डारीले आफू विभिन्न महत्त्वपूर्ण राजनीतिक घटनाक्रमको निर्णायक आन्दोलनमा अग्रभागमा खटिएको इतिहास बताउँदै खुट्टा कमाउने गरी निर्णय नलिएको स्पष्ट रूपमा बताइन् । उनले भोजपुरको माझ किराँतमा जन्मे हुर्केकी र पञ्चायत व्यवस्थाविरुद्ध बोल्दा कठोर शासकको पर्वाह नगरी आन्दोलनमा होमिएको प्रसंग झिक्दै राजनीतिबाट ब्याक नहुने बताइन् ।
उनले आफू संगठक नै रहेको र सोहीअनुसार बुझ्न पनि नेता कार्यकर्तालाई आग्रह गरिन् । आफ्नो मूल्यांकन केही होइन भन्ने हिसाबले शीर्ष नेताहरूबाट आएको धारणाप्रति उनको आपत्ति जनाइन् ।
प्रतिक्रिया दिनुहोस्: