च्यासलमा ओली–भण्डारीबीच भेटवार्ता सुरु
काठमाडौं । नेकपा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच आइतबार एमालेको केन्द्रीय कार्यालय, च्यासलमा भेटवार्ता सुरु भएको छ । ओली र भण्डारीबीच वार्ता सुरु हुनुअघि सामुहिक तस्वीर खिचाएका छन् ।
वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल,उपाध्यक्ष सुरेन्द्र पाण्डे महासचिव शंकर पोखरेल, कार्यलय सचिव भीष्म अधिकारी र स्थायी कमिटी सदस्य कर्ण थापासहितको ओली र भण्डारीसँगको तस्वीर सार्वजनिक गरेको छ ।
असार १४ गते पूर्वराष्ट्रपति भण्डारीले राजनीतिमा आउने सार्वजनिक घोषणा गरेपछि एमालेमा तरंग नै आएको छ । त्यसको असर एमालेको हालैको सचिलालय र पोलिटब्युरो बैठकमा पनि परेको छ । यससम्बन्धमा पार्टी नेतृत्वसँग औपचारिक रूपमा आज छलफल हुन लागेको हो ।
अध्यक्ष ओलीले पूर्वराष्ट्रपति भण्डारीले आफ्नो घोषणाअघि पार्टीसँग कुनै छलफल नगरेको बताउँदै आएका छन् । एमालेको शनिबार सम्पन्न पोलिटब्युरो बैठकमा सदस्यहरूले गरिमामय पदमा रहिसकेको पूर्वराष्ट्रपतिले पार्टीको सक्रिय राजनीतिमा आउन नहुने विचार व्यक्त गरेका थिए । एमालेको केन्द्रीय कमिटीको बैठक सोमबार बस्दै छ ।

प्रतिक्रिया दिनुहोस्: