शंकरले सचिवालयका निर्णयले अन्योल अन्त्य भएको भने लगत्तै इश्वरको काउन्टर
काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक सकिएको दोस्रो दिन वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल र महासचिव शंकर पोखरेलका फरक फरक धारणा सार्वजनिक भएका छन् । बिहिबार प्रस्तावित विधानमाथि छलफल सचिवालय बैठक करिब १० घण्टा बसेको थियो ।
उपाध्यक्ष विष्णु पौडेलले प्रस्ताव गरेको नयाँ विधानको प्रस्तावित मस्यौदामा, ७० वर्षे उमेरहद हटाउने, दुई कार्यकाल पादाधिकारीमा उम्मेदवार हुन नपाउने प्रावधान हटाएको छ । साथै पदाधिकारी र केन्द्रीय कमिटी घटाउने निर्णय पनि गरेको छ ।
सचिवालय बैठकले गरेका निर्णयका विषयमा दुई नेताबीच फरक फरक धारणा सार्वजनिक भएका छन् ।
महासचिव शंकर पोखरेलले विधि निर्माणको अन्योल अन्त्य भएको दाबी गरेका छन् ।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘विधि निमार्णको अन्योल अन्त्य भएको छ । मिसन ८४ का लागि बलियो नेतृत्व र एकताबद्ध पार्टी आवश्यक थियो । त्यो सुनिश्चित भएको छ ।’
त्यस्तै वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले विधानको संशोधन (मस्यौदा) माथि सचिवालयको बैठकमा गम्भीरताका साथ छलफल भएको बताएका छन् ।
उनले पनि सामाजिक सञ्जालमा लेखेका छन्, ‘पार्टीको विधान महाधिवेशनमा प्रस्तुत गरिने पार्टी विधानको संशोधन (मस्यौदा) माथि सचिवालयको बैठकमा गम्भीरताका साथ छलफल गरियो । आज पोलिटब्युरो सदस्यहरूका बीचमा छलफल हुनेछ । पोलिटब्युरोका सम्पूर्ण कमरेडहरू गम्भीरताका साथ छलफल बहसमा सहभागी हुनुहुनेछ ।’
उनले केन्द्रीय कमिटीमा प्रस्तुत हुने प्रस्तावलाई थप परिमार्जन गर्ने कुरामा योगदान पुर्याउनु हुने अपेक्षा राखे ।
वरिष्ठ उपाध्यक्ष पूर्वराष्ट्रपति भण्डारीको पक्षमा खुलेका छन् । उनी भण्डारी आउदो ११ औँ महाधधिवेशनबाट अध्यक्ष हुनु पर्छ भन्दै आएका छन् । यही विषयमा हिजोको बैठकमा अध्यक्ष ओलीसँग उनले केही विषयमा फरक मत राखेको चर्चा छ ।
नेकपा एमालेले पदाधिकारी संख्या १५ जनामा घटाउने र केन्द्रीय कमिटी २५१ बनाउने एमालेको तयारी छ ।
प्रतिक्रिया दिनुहोस्: