जसपाले समर्थन फिर्ता लिएपछि राष्ट्रियसभामा सरकार अल्पमतमा
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । बुधबार जसपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि राष्ट्रियसभामा कांग्रेस एमाले नेतृत्वको गठबन्धको सरकार अल्पमतमा परेको छ ।
बुधबार बसेको जसपा नेपालको संसदीय दलको बैठकले भूमिसम्बन्धी विधेयकमा समेटिएका विषयवस्तुमा असहमति जनाउँदै सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो । यो निर्णय पार्टीको केन्द्रीय कार्यकारिणी समितिको निर्देशनअनुसार गरिएको हो ।
जसपा नेपालका राष्ट्रियसभामा तीन जना सांसद छन् । ती सांसदहरू विपक्षमा उभिएसँगै ५९ सदस्यीय राष्ट्रियसभामा सरकार अल्पमतमा पुगेको हो ।
राष्ट्रियसभामा बहुमतका लागि ३० मत आवश्यक पर्छ । तर, जसपाको समर्थन गुमेपछि सरकारसँग नेपाली कांग्रेसका १६, एमालेका ११ र लोकतान्त्रिक समाजवादी पार्टीका एक सांसद मात्रै छन् । यी सबै जोड्दा २८ मत मात्रै पुग्छ, जसले बहुमतको संख्या पूरा गर्दैन ।
सरकार अल्पमतमा परेपछि राष्ट्रियसभामा विधेयक पारित गर्ने र महत्त्वपूर्ण निर्णय अघि बढाउने प्रक्रियामा कठिनाइ उत्पन्न हुने देखिएको छ ।
प्रतिक्रिया दिनुहोस्: